प्रहरीले भन्योः चाडपर्वमा लामो समय घर छोडेर जाँदा खबर गर्नू
काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालयले लामो समयसम्म घर-पसल छोडेर बाहिर जानु परेमा छिमेकी, प्रहरी वा स्थानीय प्रहरीलाई खबर गरेर जान अनुरोध गरेको छ ।
बहुमूल्य सामान बोकेर भीडभाडमा जाने गल्ती नगर्न आग्रह गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष सावधान अपनाउन पनि सुझाव दिएको छ ।
तिहार, नेपाल संवत र छठ लगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गरेर प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ ।
तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालाई मजबुत बनाउन उक्त कार्यालयले सर्वसाधारणमा जारी गरेको अपिलमा लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन बताएको छ ।
साथै चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पनि ट्राफिकमार्फत निगरानी बढाएको जनाइएको छ । सार्वजनिक गरिएको अनुरोधमा पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न, मादकपदार्थ सेवन मापसे र लागूपदार्थ सेवन लापसे गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि सार्वजनिक अनुरोधमा भनिएको छ ।
नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भिडभाडमा सकेसम्म नजान, घर तथा पसलबाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ/छैन यकीन गर्न तथा सकेसम्म साइरन जडित ताल्चा जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
लामो समय घर वा पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको छ ।
यस्तै, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया