समाज

सशस्त्र प्रहरीद्वारा एक लाख बढीको पटाका नष्ट

इकागज |
कात्तिक २४, २०८० शुक्रबार २१:५१ बजे

जनकपुरधाम- दीपावली नजिकिएसँगै अवैध रूपमा चोरी निकासी गरिएका एक लाख मूल्यभन्दा बढीको प्रतिबन्धित पटाका सशस्त्र प्रहरी धनुषाले नियन्त्रणमा लिई नष्ट गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाले जनकपुरधामबाट बरामद गरिएका एक लाखभन्दा बढी मूल्य बराबरको प्रतिबन्धित अवैध पटाका शुक्रबार दिउँसो नष्ट पारिएको हो ।  स्थानीय जनप्रतिनिधि र नेपाल प्रहरीको रोहवरमा जनकपुरधामस्थित सशस्त्र प्रहरीको कार्यालयमै खाल्डो खनी उक्त पटाका नष्ट पारिएको जनाइएको छ ।


जनकपुरधाम उपमहानगरपालिका ४ स्थित माछा बजारबाट सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका सहायक प्रहरी निरीक्षक प्रकाश धितालको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरेको एक लाख ३ हजार मूल्य बराबरको पटाका नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरीको मोबाइल टोलीलाई देखेर भारतबाट अवैध रूपमा भन्सार छली गरेर टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ३ वटा बोरामा विभिन्न किसिमका प्रतिबन्धित पटाकाहरू सोही स्थानमा छाडी फरार भएका कारण पटाका मात्र नियन्त्रणमा लिइयो र व्यक्ति भाग्न सफल भएको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी यदु कार्कीले जनाएका छन् ।

चालु महिनामा मात्रै सशस्त्र प्रहरी धनुषाले लत्ताकपडा र खाद्यान्न सामग्रीसहित ७० लाख रुपैयाँ बराबरको बरामद गरेको छ । यस्तै चालु आर्थिक वर्षमा अहिलेसम्म चेकजाँचका क्रममा र गोदाममा छापामारी पौने दुई करोड रुपैयाँ बराबरका सामग्री बरामद गरी कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको डिएसपी कार्कीले बताए ।


Author

थप समाचार
x