समाज

दाङमा सिकारीले चलाएको गोली लाग्दा प्रहरी जवानको मृत्यु

इकागज |
कात्तिक २५, २०८० शनिबार १४:१७ बजे

सांकेतिक तस्बिर

बुटवल- सिकारीको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल २८ नम्बर गणमा कार्यरत जवान जुगरू चौधरीको जनसेवा सामुदायिक वनमा सिकारीले चलाएको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौधरी कार्तिक २३ गते बिहान जंगलमा गाेली लागेर मृत्यु भएको अवस्थामा फेला परे पनि सूचना ढिलो गरी सार्वजनिक भएको हो । उनको छातीमा ५ ठाउँ र पिठ्युँमा एउटा गरी ६ वटा भरुवा बन्दुकको छर्रा लागेको छ ।


उनलाई गोली हानेको अभियोगमा प्रहरीले दाङकै शेरबहादुर केसीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ परेका केसीले मालुको बोटमा गुना बसेको ठानेर आफूले गोली हानेको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी जवान बिदामा घर आएका बेला मालुको पात टिप्न जंगल गएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।


Author

थप समाचार
x