समाज

सेलरोटी बेचेर मनग्गे आम्दानी गर्दै सुमित्रा

इकागज |
कात्तिक २५, २०८० शनिबार १७:२५ बजे

कैलाली- दिउँसोको खाली समयको सदुपयोग गर्दै सेलरोटी बनाउन थालेकी धनगढी उपमहानगरपालिका-१ की सुमित्रा गुरुङलाई अहिले भ्याइ नभ्याइ भएकाे छ । त्यही सेलरोटी बेचेर सुमित्राले अहिले मनग्गे आम्दानी समेत गरिरहेकी छिन् । 

विगत १८ वर्षदेखि वाइन शप चलाई रहेकी सुमित्राले सेलरोटी बनाउन थालेको धेरै भएको छैन । गत भदौतिर केही सेलरोटी बनाएर बिक्रीवितरण सुरु गरेको बताउँदै उनले दसैँपछि भने सेलरोटीको माग ह्वात्तै बढेको सुनाइन् । 


'ग्राहकहरूले सेलरोटी मनपराई दिनुभयो र माग पनि बढ्यो,' सुमित्राले भनिन्, 'त्यसपछि सेलरोटी बनाउन भ्याइ नभ्याइ भयो ।' अहिले दैनिक तीन सय वटासम्म सेलरोटी बिक्रीवितरण भइरहेको बताउँदै आम्दानी समेत राम्रो भएको सुमित्राकाे  जिकिर छ ।

दसैँमा भन्दा तिहारमा सेलरोटीको माग धेरै भएको उनले बताइन् । होम डेलिभरी समेत गरिरहेको उनकाे भनाइ छ । सेलरोटीका लागि अहिले धनगढीसंगै टीकापुर, बौनिया, अत्तरिया र महेन्द्रनगरबाट मागहरू आइरहेको सुमित्राले बताइन् । 

सुमित्राले ग्राहकहरूकाे माग धेरै भएका कारण अहिले बिहान ३ बजेदेखि नै सेलरोटी बनाउन सुरु गरिरहेको सुनाउँदै आगामी वर्षदेखि फिनीरोटी समेत बनाउने बताइन् । अहिले सेलरोटीसंगै फिनीरोटीको समेत माग निकै भएको उनकाे भनाइ छ ।

प्रतिगोटा २५ रुपैयाँका दरले सेलरोटी बिक्रीवितरण गरिरहेकी सुमित्रा अहिले यो पेसा आफू एक्लैले गरिरहेको बताउँछिन् ।


Author

थप समाचार
x