समाज

छाउपडीविरुद्ध धामी-पुजारी

इकागज |
कात्तिक २५, २०८० शनिबार २१:५४ बजे

फाइल तस्बिर

गडराय (बझाङ)- बाजुराको खप्तडछेडेदह गाउँपालिका डोगटीका दिनेश सुनार सोही ठाउँको एउटा मन्दिरका पुजारी हुन् । उनी पुजारी हुँदा मन्दिरमा पुरुषबाहेक महिलालाई प्रवेश निषेध नै थियो । त्यस बेला महिनावारी भएका महिलाले मन्दिरभन्दा दुई सय मिटर टाढाबाट हिँड्नुपर्थ्यो । महिनावारी भएका महिलालाई मानवोचित  व्यवहार हुँदैनथ्यो ।  अहिले भने अवस्था त्यस्तो छैन, धेरै परिवर्तन भएको छ ।

'आजभोलि मन्दिर र महिनावारी भएको बेला हिँड्ने महिलाको बाटोको दूरी साँघुरिएको छ,' पूर्व पुजारी दिनेशले भने, 'पहिले हामी नै छाउपडी भनेको पाप हो भन्थ्यौँ । अहिले त्यो प्रकृतिको बरदान भएको बुझ्न थालेका छौँ ।'


पूर्व पुजारी दिनेशका अनुसार केही वर्ष अगाडिसम्म डोगडीमा छाउपडीका लागि धारा, पँधेरा, शौचालय, पुलपुलेसा तथा मन्दिर नजिक जाँदा ठाउँ–ठाउँमा ढुङ्गा बिछ्याइन्थ्यो । जमिनमा टेक्दा छुइने भन्दै ढुङ्गा राखेपछि त्यसैमा टेकेर हिँड्नुपर्ने समाज अहिले धेरै नै फेरिएको उनले बताए । 'अहिले भने महिनावारीको खासै वास्ता हुँदैन । त्यो प्रकृतिको नियम हो भन्दै गाउँमा धेरै कार्यक्रम भएपछि बुझेका हौँ ।'

रजस्वला हुनु प्राकृतिक नियम भएको सबैले बुझ्न थालेको उनले बताए । उनले मन्दिर र घरको पूजा कोठामा बाहेक अन्य ठाउँमा महिनावारी भएका दिदीबहिनीलाई स्वतन्त्र छाडेको बताए । 'देउताले छाउपडीलाई नमाने पनि गाउँमा हामीले नै धेरै कुरा खुलाएका छौँ । हामीले माने पो देउता हुन्छन् भन्दै महिनावारीको बेलामा सफा गर्नेतर्फ मात्रै ध्यान दिन भनेका छौँ,' दिनेशले भने ।

छाउपडी प्रथा धेरै मानिने डोगडीमा आजभोलि भने धेरैले कुप्रथाको रूपमा बुझ्न थालेको उनले बताए । उनले भने, 'पुराना मान्छेले छाउपडीलाई केही असहज माने पनि नयाँ पिँढीमा भने धामी पुजारीसमेत कुप्रथाको रूपमा बुझ्न थालेका छन् ।'

खप्तडछान्ना गाउँपालिका–६ बझाङ राजकोटका भोटे धामी पनि अहिले छाउपडी मान्ने चलन फेरिँदै आएको बताउँछन् । उनी भन्छन्, 'अहिले  गाउँघरमा गोरससमेत खान थालेका छन् ।  धारा पँधेरा बार्ने चलन पनि छुटिसक्यो ।'

धामीले आफ्नै घरमा पनि नातिनी, बुहारीलाई दही खान दिएको सुनाए । 'छाउपडी भनेर सबैले हेला गर्छन्, खान दिँदैनन् । तर, यसपटक जे भए पनि हुन्छ भन्दै महिनावारीको समयमा दही दियौँ । सबैले गाईवस्तु बिग्रेलान् भने । तर, केही भएन । आजभोलि दूधदही सेवन नियमित चलिरहेको उनले बताए । उनले गाउँघरमा अहिले महिनावारी भएका महिलाले शौचालयको समेत प्रयोग गरिरहेको बताए ।

बझाङ र बाजुराका दुई पालिकामा गरिमा परियोजना लागू भएको दुई वर्षपछि अधिकांश क्षेत्रमा महिनावारीमाथि हुने विभेद घटेको उनले बताए ।

गरिमा परियोजनाका फिल्ड संयोजक विक्रम जोशी पनि बझाङको खप्तडछान्ना र बाजुराको खप्तड छेडेदहका महिलालाई हौसला प्रदान गरेको बताउँछन् । उनी भन्छन्, 'हामीले महिनावारी हुने महिलामाथिको विभेद निर्मूल गर्न समुदायमा विभिन्न कार्यक्रम गरिरहेका छौँ ।' उनका अनुसार परियोजनाले फिल्डमै गएर सासू समूह, किशोरी समूह, धामी–झाँक्री समूह बनाएर छाउपडी प्रथा उन्मूलनका लागि काम गरिरहेको छ ।

परियोजनालाई सहयोग गरिरहेको करूणा ट्रष्टका प्रतिनिधि केवल शाहले पनि छाउपडी प्रथा कुप्रथा भएको भन्दै त्यसलाई रोक्न र महिलालाई सुरक्षित राख्न आफ्नो संस्थाले सहयोग गरिरहेको बताए । 'हामीले धेरै ठाउँमा यस्ता कार्यक्रमका लागि सहयोग गर्दै आएका छौँ । पक्कै पनि नतिजा राम्रो आउने छ भन्ने अपेक्षा गरेका छौँ,' उनले भने ।

गरिमा परियोजनालाई करुणा जर्मनी, करुणा ट्रष्ट, सङ्घीय गणतन्त्र जर्मनीको सरकार, बिएमजेडले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । परियोजनाद्वारा सञ्चालित ग्रीन तारा नेपालका निर्देशक रामचन्द्र सिलवालले छाउपडी प्रथा निर्मूल पार्न समाजका सबै तह र तप्काका मान्छेलाई तालिम दिनुपर्ने बताए ।

उनले भने, 'कुप्रथाको अन्त्य एकै पटक हुँदैन । यो आफैँ परिवर्तन हुन लामो समय कुर्नुपर्छ भनेर विभिन्न सङ्घसंस्थाले समेत निर्मूल गर्न र महिलालाई सुरक्षित राख्न काम गरिरहेका छन् ।' रासस


Author

थप समाचार
x