समाज

इजरायल घटनाले चुँडिएको अमनको मन, तुहिएको विदेशिने सपना

इकागज |
कात्तिक २६, २०८० आइतबार १०:५२ बजे

काठमाडौँ- कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल जाने सोचमा थिए । 

पढाईसँगै राम्रो आम्दानी हुने आशमा इजरायलको सपना देख्दै आएका मेहता इजरायल घटनापछि भने हच्किएका छन् । पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल पुगेका अग्ज सहितका साथी गुमाउनु पर्दा अमनको मन मात्रै चुडिएको छैन, वर्षौंदेखिको उनको सपनासमेत तुहिएको छ । 


पढ्दापढ्दै इजरायल गएका साथीहरूले आतंकवादी आक्रमणमा ज्यान गुमाउनुपरेको घटनापश्चात भने अमनले सोच बदलेका छन् । सपना त्यागेका छन् । विदेश नजाने निधोमा आफुलाई पुर्‍याएका छन् । उनी भन्छन्, ‘चाहेको भए म पनि इजरायल पुगेको हुने थिएँ । साथीभाई जाँदा मैले स्थानीय स्तरमै अनुसन्धान गर्छु र सकेर मात्र जान्छु भनि विदेशिने समयलाई पछि सारेको थिएँ । के हुन्थ्यो हुँदैन थियो कसलाई के थाहा । उनी गुमाउनुपरेका साथीभाई सँगको अध्ययन गर्दाताकाको पल सम्झेर भक्कानिन्छन् । ’ 

इजरायल घटनापछि मन चुँडिएको बताउने अमन अब विदेशिने आफ्नो सपना सपनामै सिमित भएको बताउँछन् । उनी भन्छन्, ‘अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै ब्यवहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु । ’ 

हुनतः हरिनगर-३ गौतमपुर घर भएका अमन मेहताले कृषि विज्ञान अध्ययन थाल्दै गर्दा खेतीबाली लगाउन थालिसकेका थिए । त्यसबेला अनुसन्धान तथा सिकाईका रुपमा अघि बढाएको उक्त कार्यलाई अब भने उनी व्यवसायिक खेतीका रुपमा अंगाल्ने अठोटसाथ अघि बढेका छन् ।

गाउँमै खोलेको एलिसा कृषि फर्मलाई दीर्घकालिन रुपमा अघि बढाउने सोचमा उनी पुगेका छन् । घरमै खोलिएको कृषि फर्मलाई अमनका बुबा रामेश्वर मेहतासहित सिङ्गो परिवारले साथ दिएको छ । पछिल्लो घटनाक्रम पश्चात त अझ छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेको छ, अमनको परिवार । 

अमनले कृषि फर्ममा यतिबेला सयपत्री फूल फुलाएका छन् । ड्रागन फल फलाएका छन् । ५ कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाएका अमन यही कृषि पेशालाई अघि बढाउने तयारीमा पुगेका छन् । आफू अध्ययनकै क्रममा रहेको र विदेशिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब भने बिस्तार गर्ने सोचमा रहेको अमनले बताए । उनले विदेशिने सोच बदेलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको बताए । 

स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेकोप्रति चिन्तित युवा किसान अमनले कृषि नीतिमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको औंल्याए । सरकारले किसानको हकहितमुखी योजना लागू गर्नसके स्वदेशमै खेती किसानी गर्नेलाई राहत मिल्ने र व्यवसायिक रुपमा कृषि क्रान्ति सम्भव हुने धारणा राखे ।


Author

थप समाचार
x