समाज

संकटमा गन्धर्व पेसा

इकागज |
कात्तिक २८, २०८० मंगलबार १४:३१ बजे

कैलाली- सारङ्गी रेट्दै मीठो धुन निकाल्दै गाउँगाउँ डुलेर जीविका चलाउने गन्धर्व पेसा संकटमा परेको भन्दै चिन्ता व्यक्त गरिएकाे छ । चाडपर्व, विवाह आदि उत्सवमा सारङ्गी रेट्दै प्रायः देशमा घटेका समसामयिक विषय उठान गरेर गाइने पेसा संकटमा परेको भन्दै यसका अगुवाहरूले चिन्ता व्यक्त गर्न थालेका हुन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ७ ‘घ’ गाउँका ६४ वर्षीय मानबहादुर गन्धर्वले विगत ५० वर्षदेखि यसरी नै सारङ्गी रेट्दै आएका छन् । उनले पहिला-पहिला यसरी सारङ्गी रेटेर गीत गाउँदा राम्रै आम्दानी हुने गरेको थियाे । र, जहान केटाकेटी पाल्न पनि सहज भएको उनले बताए । तर, अहिले यो पेसा संकटमा परेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । 


परिवारका अरु सदस्य कोही पनि यो पेसामा संलग्न नभएका कारण आफ्नो शेषपछि कसले सारङ्गी रेटिदेला भनेर उनले चिन्ता व्यक्त गरे । अहिले चाडपर्वका बेला गाउँगाउँ डुलेर सारङ्गी बजाउन हिँड्ने गरेका मानबहादुरका छोराछोरी भने रोजगारीका लागि भारत पलायन भइसकेका छन् ।

यस्तै सोही ठाउँका ६३ वर्षीय जितबहादुर गन्धर्वको पनि गुनासो मान बहादुरको जस्तै छ । सानैदेखि सारङ्गी रेट्दै हिँडियो अरु पेसा केही जानिएन, अहिले परिवार पाल्न समेत धौधौ भएको उनले सुनाए ।

जम्मा दुई घरपरिवार रहेको ‘घ’ गाउँमा उनीहरूपछि यो पेसा अगाल्ने कोही पनि छैनन् । दैलेखबाट बसाइँसराइ गरेर आएको झण्डै साढे ४ दशक पुगिसक्यो । उनले भने, 'राज्यले पछि आएर बसेकाहरूलाई जग्गा जमिन दिए पनि हामीहरूलाई भने बेवास्ता गरेको छ ।'


Author

थप समाचार
x