समाज

१९औं एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई सम्मान

इकागज |
कात्तिक २८, २०८० मंगलबार १७:५७ बजे

काठमाडौँ- मारवाडी समाजको धार्मिक एवं सामाजिक परम्पराअनुसार समाजका सदस्यहरू भेला भई एक आपसमा शुभकामना आदान प्रदान गरी आपसी भाइचाराको सम्बन्ध अभिवृद्धिका लागि दीपावली स्नेह मिलन समारोह गरिएकाे छ । यस वर्ष पनि मारवाडी सेवा समिति नेपाल, श्री पशुपति गौशाला धर्मशाला, मारवाडी सेवा ग्राम गौधाम (धार्के) मारवाडी महिला मंच र मारवाडी युवा मंचसहित समाजका सदस्यहरूको उल्लेख्य सहभागितामा कार्तिक २७ गते अर्पण ब्याङ्क्वेट नयाँ बानेश्वरमा गणेश, महालक्ष्मीजीको तस्बिरमा माल्यार्पण एवं पुष्प अर्पण गर्दै भव्य एवं उल्लाषमय वातावरणमा मनाइएकाे हाे ।

मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले आएका सदस्यहरूको स्वागत गर्दै शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व २०८० को शुभकामना दिएका थिए । उनले आफ्नो शुभकामना मन्तव्यका क्रममा मारवाडी सेवा समिति नेपालले सामाजिक, राजनीतिक, धार्मिक, शैक्षिक, सांस्कृतिक, आर्थिक एवं प्राकृतिक आपत विपत आदिमा पुर्याउँदै आइरहेको सेवा कार्यबारे उल्लेख गर्दै जाजरकोट र पश्चिम रुकुममा केही दिन अघि गएको विनाशकारी भूकम्पमा परी ठूलो जनधनको क्षति भएकोमा त्यस क्षेत्रमा मारवाडी सेवा समिति नेपालको तर्फबाट राहत पठाउने कार्य भइरहेको बताए । उनले पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पि. फम मेट ९०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरिएको जानकारी गराए ।


मारवाडी सेवा समिति नेपालले उत्सव एवं समारोहहरूमा १९औं एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीहरूले विश्व सामु नेपाल र नेपालीको शिर उच्च पार्न सफल भएको भन्दै क्रिकेट म्याचमा ९ बलमा अर्ध शतक बनाई विश्व कीर्तिमान बनाउन सफल दिपेन्द्र सिंह ऐरी र ३४ बलमा शतक बनाई विश्व कीर्तिमान बनाउन सफल कुशल मल्ललाई हौसला एवं सम्मान स्वरूप जनही एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरियो । साथै कराते खेलतर्फ नेपाललाई रजत पदक दिलाई नेपालीको शिर उच्च पार्नमा सफल भएकी एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरियो ।

कार्यक्रममा नेपाल क्रिकेट एशोसियन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरूलाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरियो । सोही अवसरमा मारवाडी समाजका सदस्यहरू एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाल र पूर्व क्रिकेटर पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरियो । मारवाडी सम्मान कार्यक्रमको संचालन मारवाडी युवा मंचका महासचिव प्रकाशकुमार केजरीवालले गरेका थिए । 

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मंचकी अध्यक्ष अर्चना काबरा, मारवाडी युवा मंचका अध्यक्ष शैलेन्द्र शर्माले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको अन्तमा उपस्थित सदस्यहरूलाई दीपावली स्नेह मिलन समारोह–२०८० तयारी समितिका संयोजक रमेश तापडि़याले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको संचालन मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोदकुमार अग्रवालले गरेका थिए । 


Author

थप समाचार
x