समाज

तिहार त्यागेर जनस्वास्थ्य टोली भूकम्प पीडितको उपचारमा

इकागज |
कात्तिक २८, २०८० मंगलबार १८:५६ बजे

फाइल तस्बिर

कर्णाली- नेपालीको दोस्रो महान् पर्व तिहार (दीपावली) को रमझम बढिरहँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनस्वास्थ्य टोली भूकम्प पीडितको उपचारमा व्यस्त छ । प्रतिष्ठान जुम्लाका जनस्वास्थ्य डीन प्राडा मुनिराज क्षत्री नेतृत्वको छ जनाको टोली एक सातादेखि भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितको उपचार गरिरहेको छ ।

उनसँगै डा ओमप्रकाश काफ्ले, मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यसहित जाजरकोट र रुकुम पश्चिमका प्रभावित जिल्लाका पीडितलाई जनचेतना, उपचार सेवा र राहत सामग्री नपुगेर सङ्कट व्यहोरिरहेकालाई सहयोग गर्दै आएको छ । यसपालिको तिहार भूकम्प पीडितको उपचार सहयोगमा बिताउने गरी अहिले नलगाड नगरपालिकाका बिरामीको उपचारमा रहेको उनले बताए ।


'हामी एक सातादेखि पीडितको उपचार सेवामा तल्लीन छौँ,' उनले भने, 'अब नलगाडपछि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जाँदैछौँ ।' यसअघि जाजरकोटको भेरी र छेडागाड नगरपालिका तथा रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिका उपचार सेवा दिइएको डीन प्राडा क्षत्रीले बताए ।
 
उनका अनुसार उपचार सेवा प्रवाहबाट प्रत्यक्ष–परोक्ष गरेर करिब तीन हजार भूकम्प पीडित लाभान्वित भएका छन् । 'भूकम्प प्रभावित क्षेत्रमा चिसो बढ्दै गएको छ । चिसोले दम, निमोनिया र रुघाखोकीका बिरामी बढ्ने खतरा छ,' उनले भने, 'खानेपानी, शौचालयको अभावले वातावरणीय प्रदूषण बढ्ने र त्यसले रोग निम्तिने समस्या पनि त्यत्तिकै देखिएको छ ।'

यसको सामना कसरी गर्ने भन्ने कुरामा तीनै तहका सरकारले दीर्घकालीन रणनीतिक योजना बनाउन आवश्यक रहेको डीन क्षत्रीको भनाइ छ । उनका अनुसार नागरिकको स्वास्थ्यमा आइपर्ने सङ्कट निवारण कसरी गर्नेमा प्रतिष्ठानले पनि आफ्नो योजना बनाएर अगाडि बढ्ने छ ।

बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी दुई सय ५० भन्दा बढी घाइते भएका थिए । एक सय ५७ जनाको उक्त भूकम्पमा परी मृत्यु भएको थियो । रासस


Author

थप समाचार
x