समाज

भूकम्प पीडितको घरदैलोमै उपचार सेवा

इकागज |
कात्तिक २८, २०८० मंगलबार २२:४ बजे

फाइल तस्बिर

कर्णाली- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ ।​ प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल, शिक्षाध्यक्ष डा डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा रविन खातुङ, डा तोसिमा कार्की भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेलाई उपचार गरेर फर्केको हो ।

जाजरकोटको भेरीगङ्गा र नलगाड नगरपालिका तथा कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटेकालगायत सबैखाले समस्या भएका घाइते तथा बिरामीको उपचार गरिएको उपकुलपति डा रावलले जानकारी दिए ।


प्रतिष्ठानको टोलीले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका मन्त्री, जाजरकोट जिल्ला अस्पताल व्यवस्थापन समिति र सरोकारवालासँग ५० शय्याको अस्पताल गर्नुपर्नेदेखि विभिन्न नीतिगत योजनामा छलफल गरेको उनले बताए । त्यस्तै भविष्यमा आइपर्ने विपद् प्रतिकार्य रोकथामका लागि अस्पताललाई तयारी अवस्थामा राख्न र त्यसमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरी उपचार सेवा प्रदान गर्ने विषयमा पनि अन्तरक्रिया भएको उनको भनाइ छ ।

उपकुलपति डा रावलले भने, 'सरकारले अत्याधुनिक उपकरणसहित शल्यक्रिया कक्ष, सघन उपचार एकाई (आइसीयू) लगायतका सुविधाको व्यवस्था गर्नुपर्दछ । विशेषज्ञ जनशक्ति प्रतिष्ठानले उपलब्ध गराउँछ ।' उनले जिल्ला अस्पताल जाजरकोटको अस्पताल प्रमुख डा प्रतीक्षा भारतीलाई रु तीन लाख बराबरको आवश्यक औषधि, चिकित्सा सामग्री सहयोग गरिएको जनाए ।

उनका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य डीन प्रा डा क्षत्री नेतृत्वको जनस्वास्थ्य विशेषज्ञ र मनोसामाजिक परामर्शदाता सम्मिलित टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । उक्त टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतनाको अभियान सञ्चालन गर्नुका साथ अमेरिका–नेपाल मेडिकल फाउण्डेशनद्वारा पीडितलाई सहयोग गरिएको एक हजार हाइजेनिक किट्स वितरण गरेको छ ।

विपद्पश्चात् उद्धारको काम सकिएको जनाउँदै उपकुलपति डा रावलले तत्काल सबैलाई अस्थायी बास, त्रिपाल र न्यानो कपडा सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिए । सम्भावित महामारी रोक्न सघन जनस्वास्थ्य अभियान सञ्चालन, प्राथमिक स्वास्थ्योपचारका लागि अनिवार्य ५० शय्याको अस्पताल, पर्याप्त मेडिकल तथा सर्जिकल उपकरण र जनशक्ति आवश्यक विषय भएको उनको भनाइ थियो ।

तिहारपछि प्रतिष्ठान जुम्लाले जनस्वास्थ्य, चिकित्सा, नर्सिङ र विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीलाई जनस्वास्थ्य अभियान सञ्चालनका लागि परिचालन गर्ने योजना बनाएको छ । जतिसक्दो द्रुत तवरबाट सरकारले जाजरकोट अस्पतालका लागि शल्यक्रिया कक्ष र सघन उपचार एकाईसहित उपकरणको प्रबन्ध गरेमा प्रतिष्ठानले विशेषज्ञ जनशक्ति उपलब्ध गराउने योजना बनाइएको उपकुलपति रावलले बताए । रासस


Author

थप समाचार
x