समाज

फुटपाथबाट जफत गरिएका मिठाई र तरकारी नष्ट

इकागज |
मंसिर १, २०८० शुक्रबार १४:५४ बजे

मकवानपुर- तिहारको समयमा फुटपाथमा बिक्रीका लागि राखेपछि जफत गरिएका सामग्री नष्ट गरिएको छ । मकवानपुरको हेटौंडा बजारमा किनमेलका लागि आउने मानिस हिँड्नका लागि प्रयोग हुने फुटपाथमा बिक्रीका लागि राखिएका सामग्री नगर प्रहरीले नष्ट गरेको छ ।

चाडपर्वको समयमा फुटपाथमा बिक्रीका लागि राखिएका मिठाई, फलफूल र तरकारीसहितका सामग्री जफत गर्दै प्रहरीले नष्ट गरेको हो । हेटौंडा-१० राप्ती खोला नजिकै खाडल खनेर प्रहरीले जफत गरेका सामग्रीहरू नष्ट गरेको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।


नगर प्रहरीले असोज र कार्तिक महिनामा फुटपाथबाट पिठोबाट बनेको खुल्ला मिठाई ८५ किलोग्राम र तरकारीहरू २२ किलो ५ सय ग्राम जफत गरेको थियो । मुख्यगरी हेटौंडा बजार क्षेत्रको बुद्धचौक, खोपेगल्ली, राप्तीरोड र तिहार बजारका लागि दिइएको हेटौंडा अस्पताल अगाडि अव्यवस्थित ढंगबाट बिक्रीका लागि राखिएका सामग्री जफत गरिएको नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालले बताए ।

उपमहानगरले सार्वजनिक सूचना गर्दै फुटपाथमा सामग्रीहरू राखेर बिक्री नगर्न व्यवसायीहरूलाई जानकारी गराए पनि कार्यान्वयन नभएपछि सामग्री जफत गरेको ढकालले बताए ।


Author

थप समाचार
x