समाज

अमेरिकाको अध्यागमन हिरासतमा सिन्धुपाल्चोकका युवकको मृत्यु

इकागज |
मंसिर १, २०८० शुक्रबार १८:५५ बजे

काठमाडौँ- सिन्धुपाल्चोकका एक युवकको अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ ।​ बाह्रविसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठको टेक्सासको कर्नेस काउन्टी इनिग्रेसन प्रोसेसिङ सेन्टरमा मृत्यु भएको हो ।

साढे दुई महिनादेखि अध्यागमन हिरासतमा रहेका उनको गत सोमबार मृत्यु भएको अमेरिकाको इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आइसीईले पुष्टि गरेको छ । श्रेष्ठ गत भदौ ५ गते एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । त्यसपछि उनी मेक्सिकोबाट अवैध रूपमा अमेरिकाको एरिजोनाको लुकभिल प्रवेश गरेका थिए ।


गत सेप्टेम्बर २ मा अवैध रूपमा अमेरिका प्रवेश गरेका उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए ।

हिरासतमा रहेका उनको कात्तिक २७ गते मृत्यु भएको हो । उनलाई डिपोर्ट गर्ने तयारी भइरहेका बेला मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मृतक श्रेष्ठ बाह्रविसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । उनको श्रीमती र दुई सन्तान रहेको बाह्रविसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए ।


Author

थप समाचार
x