समाज

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

इकागज |
मंसिर १, २०८० शुक्रबार १९:२५ बजे

काठमाडौँ- भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छिन् । कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी हुन् ।

यसअघि कालापत्थरमा महिला स्काई डाइभरको पाँच हजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो । महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गरेका थिए । न्यूजील्याण्ड र अमेरिकाका दुई स्काई डाइभरको रेकर्ड थियो ।


एकचालीस वर्षीया महाजन भारतको पुनेकी स्काई डाइभ र खेलकुद क्षेत्रमा सक्रिय छिन् । उनले भारतको प्रसिद्ध पद्यमश्री पुरस्कार प्राप्त गरिसकेकी छिन् । ‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गरेको कम्पनीले जनाएका अध्यक्ष सुमन पान्डेले जानकारी दिए ।

महाजनको रेकर्ड गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । रेकर्ड प्रमाणित गर्न कागजात वर्ल्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काई डाइभ गरेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले विश्व रेकर्ड राखेकामा महाजनलाई बधाई दिँदै यस्ता साहसिक क्रियाकलापले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

स्काई डाइभर महाजनले लामो समयदेखिको आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा आफू सक्रिय रूपमा लाग्ने बताइन् ।

एभरेस्ट स्काई डाइभका अध्यक्ष सुमन पाण्डेका अनुसार एभरेस्ट स्काई डाइभ असाध्यै आकर्षक र साहसिक खेलको रूपमा चर्चित छ । चर्चित अन्तर्राष्ट्रिय मिडिया सिएनएनले जीवनभरमा गर्नुपर्ने साहसिकमध्ये स्काई डाइभलाई पाँच नम्बरमा राखेको छ ।

‘धेरै विदेशी नागरिक सगरमाथा आरोहण र पदयात्रा गर्न आउँछन् । तर, सगरमाथा आरोहण गर्न नसक्नेलाई सगरमाथाको उचाइबाट स्काई डाइभ गर्ने फरक दृष्टिकोणबाट सगरमाथाको अवलोकन गर्छन् । यो पनि मूल्यवान कुरा हो । उनीहरूले ‘स्टोरी’ लिएर जान्छन् । यसले नेपाल गन्तव्यको प्रवर्द्धन हुन्छ,' अध्यक्ष पाण्डेले भने ।

स्काई डाइभ एक साहसिक खेल पर्यटन हो । विश्वभर सात लाख स्काई डाइभर रहेको बताइन्छ । दुबईमा समुद्रबीचको टापुमा स्काई डाइभ गरिन्छ । मरुभूमिमा पनि यो साहसिक खेल खेलिन्छ । इजिप्टमा पिरामिडको अगाडि स्काई डाइभ हुन्छ । स्काई डाइभमा एरियल फोटोग्राफी हुन्छ । जुन जीवनकालकै बहुमूल्य हुन्छ । नेपालको स्काई डाइभमा पछाडि सगरमाथा पारेर फोटो लिइने हुनाले विश्वभरबाट स्काई डाइभको आकर्षण हुन्छ ।

मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काई डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताए । स्काई डाइभको माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले उल्लेख गरे ।

नेपालमा सन् २००८ मा एभरेष्ट स्काई डाइभ सुरु भएको हो । यसले धेरै विश्व रेकर्ड कायम भएको छ । कोभिडको वर्ष सन् २०२० बाहेक हरेक वर्ष स्काई डाइभ हुँदै आएको छ । सन् २००९ मा हाईएस्ट ‘स्काई डाइभ’ कालापत्थरमा भएको थियो । रासस


Author

थप समाचार
x