समाज

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन खुल्यो, क-कसले पाउँछन् ?

इकागज |
मंसिर ५, २०८० मंगलबार १५:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रूपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारका छोराछोरीहरूका लागि छात्रवृत्ति प्रदान गर्नै भएकाले बोर्डले आवेदन दिनलाई आव्हान गरेको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले जानकारी दिए ।


उनका अनुसार वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १ बमोजिम आगामी पुस मसान्तसम्म निवेदन दिन आह्वान गरिएको हो ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) का १८ वर्षमुनिका बालबालिकाले निवेदन दिन पाउने बोर्डको सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

श्रम स्वीकृत लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अङ्गभङ्ग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट सतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउने सूचना अधिकारी तथा निर्देशक ढकालले बताए ।

‘वार्षिक रूपमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपैयाँ छात्रवृत्ति पाइने छ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रूपमा एकमुस्ट छात्रवृत्ति उपलब्ध गराइने छ,’ उनले भने ।

 


Author

थप समाचार
x