समाज

सन्दर्भ विश्व टेलिभिजन दिवस

मिडियाको नियमन निकायमा सरकार चुक्यो

टेलिभिजन सञ्चालन गर्न जथाभाबी स्वीकृति दिँदा टेलिभिजनमा समस्या देखिए

इकागज |
मंसिर ५, २०८० मंगलबार १७:१३ बजे

काठमाडौँ- हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ । विश्व टेलिभिजनको अवसरमा आम सञ्चार तथा प्रशारण विज्ञ लक्ष्मण हुमागाईं नेपालको टेलिभिजन उद्योग कतै कमजोर बनेको हो कि भन्ने महसुस हुन थालेको बताउँछन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले टेलिभिजनले विषयहरू राम्रोसँग उत्पादन गर्न छाडेको बताए । उनले टेलिभिजनलाई छुट्टै संरक्षणको नीति आवश्यक परेको पनि बताए । सामाजिक सञ्जालको दबाब विश्वभर नै परेको बताउँदै आम सञ्चार तथा प्रशारण विज्ञ हुमागाईंले सामाजिक सञ्जालको प्रभाव विश्वभरका सञ्चार माध्यममा परे पनि सामाजिक सञ्जाल मिडिया नभएको बताए । सामाजिक सञ्जाल आम सञ्चारका माध्यम नभएर व्यक्तिगत माध्यम भएको उनकाे भनाइ छ ।


विज्ञ हुमागाईंले सामाजिक सञ्जाल व्यक्तिगत सूचना प्रवाह र नेटवर्क प्रवाह गर्नका लागि काम गर्ने माध्यम मात्रै भएको बताए । सामाजिक सञ्जालको कारणले गर्दा विज्ञापन बजारमा केही असर प्रभाव परेको तर टेलिभिजनको विज्ञापन आजको दिनमा पनि विश्वमा पहिलो नम्बरमा पर्ने बताए । आम सञ्चार तथा प्रशारण विज्ञ हुमागाईंले टेलिभिजनको महत्व अहिले नघटेको बरु बढ्दै गइरहेको दाबी गरे ।

उनले टेलिभिजनकै कन्टेन्ट प्रयोग गर्ने परिपाटी सामाजिक सञ्जालमा भइरहेकाले पनि टेलिभिजनको महत्व झनै बढिरहेको बताए । नेपालमा टेलिभिजन क्षेत्र कमजोर भएको हो कि भन्ने लागे पनि अहिले पनि विश्व स्तरमा पहिलो नम्बरमा विज्ञापन जाने माध्यम टेलिभिजन भएको बताए ।

यता, भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहालले नेपाली टेलिभिजनमा प्रशारण हुने कन्टेन्ट विषयवस्तुहरूकाे स्तर खस्केको भनाइ राखे । उनले कन्टेन्ट राम्रो भएसम्म टेलिभिजनको महत्व नघट्ने बताए । उनले प्रशारणको शैली र आम दर्शकमा पुग्ने माध्यम मात्रै परिवर्तन भएकाले टेलिभिजनको महत्व छैन भन्न नहुने बताए ।

मिडियामा लगानी गर्न आउने मानिसहरू मिडियाप्रति जानकार नहुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको उनकाे भनाइ छ । टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किन सक्ने हो भने टेलिभिजनको आवश्यकता झनै बढ्ने उनको भनाइ छ । नक्कल गरेर विषयवस्तु पस्किने प्रचलनले पछिल्लो समय सञ्चार माध्यमको महत्व खस्किँदै गएको बताए । उनले टेलिभिजनको गुणस्तर उच्च बनाउनुपर्ने बताए । 

विश्व टेलिभिजन दिवसका अवसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्यालले कमजोर लगानीमा योजनाबिना टेलिभिजन स्थापना हुँदा टेलिभिजनको अवस्था निराशाजनक रहेको बताए । उनले सरकारले टेलिभिजन खोल्न आवश्यक वार्षिक कार्ययोजना र कार्यक्रमको ढाँचाको विषयका गाइड लाइन बनाउन नसक्दा टेलिभिजनमा समस्या आएको दाबी गरे । उनले सरकारले कुनै योजनाबिना टेलिभिजन अगाडि बढाउँदा सबैभन्दा सस्तामा उत्पादन (प्रोडक्सन) भएका मनोरञ्जनका सामग्रीमा टेलिभिजनहरू केन्द्रित भएको उल्लेख गरे । उनले कन्टेन्टलाई गम्भीरतापूर्वक हेरेर बनाउने भन्दा पनि हलुका र सस्ता कन्टेन्टहरू बजाउने काम मात्रै गरेको उल्लेख गरे ।

सहप्राध्यापक अर्यालले सरकारले टेलिभिजनहरूले कस्तो कन्टेन्ट बनाउन भन्ने गाइड लाइन बनाउन आवश्यक रहेको बताए । उनले सरकारले अहिलेसम्म प्राइभेट र सरकारी टेलिभिजनले बनाउने कन्टेन्टका लागि स्पष्ट गाइड लाइन नहुँदा नेपाल टेलिभिजन नै अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गरे । उनले गणतान्त्रिक मुलुकमा सरकारले टेलिभिजन चलाएर बस्न नपर्ने बताए । उहाँले नेपाल टेलिभिजनलाई सरकारको ठाडो नियन्त्रणमा राख्न नहुने भन्दै संसदप्रति उत्तरदायी बनाउन पब्लिक सर्भिस बोर्डकास्टिङ बनाउने योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

उनले वि.स.२०४६ सालपछि नेपाली मिडियामा ठूलो लगानी आउँदा मिडियाहरू संस्थागत स्वरूपमा लिए भनिए पनि अहिले त्यही संस्थागत स्वरूपमा मिडियाहरूमा श्रमजीवीका समस्या बाहिर आउँदा मिडिया क्षेत्रमा अझै निराशा देखिएको बताए । उनले मिडिया उद्यमीहरूले सामाजिक उत्तरदायित्व पनि सोच्नुपर्ने बताए ।


Author

थप समाचार
x