समाज

मनकामना मन्दिर परिसरको सरसफाइ

इकागज |
मंसिर ७, २०८० बिहीबार १४:१४ बजे

गोरखा- गोरखाको प्रसिद्ध धार्मिक स्थलका रूपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको सरसफाइ गरिइएको हो । 

मनकामना केबुलकारको स्टेशन मेनेजर उज्ज्वल शेरचनले केबुलकारमा कार्यरत कर्मचारीको सहभागितामा मन्दिर र वरपर रहेका फोहाेरलाई सङ्कलन गरी व्यवस्थापन गरिएको जानकारी दिए । त्यस्तै केबलकारको सवस्टेशनमा पर्ने चोरेस वरपरको पृथ्वीराजमार्गअन्तर्गत पर्ने सडक क्षेत्रमा समेत सरसफाइ गरिएको थियो ।


विसं २०५५ मङ्सिर ८ औपचारिक रूपमा सञ्चालनमा आएको मनकामना केबुलकारले शुक्रबार सेवा प्रारम्भ गरेको २५ वर्ष पूरा गर्दैछ । मनकामना केबलकार हुँदै गोरखाको सहिद लखन गाउँपालिकाको वडा नं २ मा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्म पुग्न सकिन्छ ।

केबुलकार सञ्चालनको अवधिमा हालसम्म स्वदेशी तथा विदेशी गरी मनकामना केबलकार हुँदै करिब एक करोड ८१ लाखभन्दा बढी तीर्थयात्री मनकामना मन्दिर पुगिसकेको सहायक स्टेशन म्यानेजर सुनिल कमाचार्यले जानकारी दिए ।

नेपाली-भारतलगायतका सार्क राष्ट्रबाट आउने पर्यटकहरू, चीनलगायतका अन्य विभिन्न देशबाट मनकामना मन्दिर घुम्न आउने पर्यटक मनकामना केबुलकार चढेर प्रसिद्ध मनकामना मन्दिरको दर्शन गर्न पुग्ने गरेका छन् । एनालग प्रविधिमा सञ्चालित मनकामना केबुलकारलाई आउँदो वर्षदेखि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको सञ्चालकमध्येका एक राजेशबाबु श्रेष्ठले जानकारी दिए । रासस


Author

थप समाचार
x