समाज

दुर्गा प्रसाईं समूहको बल्खु प्रदर्शनमा कति भए घाइते ? कहाँ हुँदैछ उपचार ?

इकागज |
मंसिर ८, २०८० शुक्रबार ७:५२ बजे

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन् भने  छ जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । 


उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो  । 

प्रसाईं समूहले राजतन्त्र, भष्ट्राचार, बेथिति, कुशासन, दलाल, कमिशनखोर, घुसखोर, अन्याय, अत्याचार, शोषण, दमनविरूद्ध आन्दोलन गरेको बताउँदै आएको छ ।

आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईंले बताएका छन् । ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौं’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौँ उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।

प्रसाईले भनेका छन् ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ ।’


Author

थप समाचार
x