समाज

तीनकुनेमा दुर्गा प्रसाईंको कार्यक्रमबारे यसो भन्छ काठमाडौँ जिल्ला प्रशासन

इकागज |
मंसिर ८, २०८० शुक्रबार ११:१६ बजे

काठमाडौँ- दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । जिप्रका काठमाडौँले एक प्रेस विज्ञप्ति जारी गर्दै  प्रसाईं समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको जनाएको हो ।

'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्ति केन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी काठमाडौँको तीनकुने क्षेत्रमा भेला जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ' सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यद्वारा विज्ञप्तिमा भनिएको छ 'यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन ।'


नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिनाहातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको जनाएको छ ।

'सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चितता सहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुन्छ' विज्ञप्तिमा भनिएको छ ।

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने जिप्रका काठमाडौँले जनाएको छ ।

 


Author

थप समाचार
x