समाज

हेटौंडामा थप ११ दिन निषेधाज्ञा

इकागज |
जेठ १९, २०७८ बुधबार १९:३३ बजे

फाइल तस्बिर

हेटौँडा : जिल्लामा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर जेठ ३१ गतेसम्म पुर्‍याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । त्यस्तै केन्द्रको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्नलगायतका पसलहरु बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।


खोपेगल्ली र बसपार्कको तरकारी पसल तथा मण्डी र डिपार्टमेन्ट स्टोर्सहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको उनले बताए । बैठकले बैंक तथा मनिट्रान्सफरहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यसैगरी कामदार कर्मचारीलाई उद्योग परिसरमै बस्‍ने र खाने व्यवस्था मिलाएर वा घरबाटै लाने ल्याउने व्यवस्था गरेर उद्योग सञ्चालन गर्न सक्ने बैठकले निर्णय गरेको छ । रासस


Author

थप समाचार
x