समाज

धरौटी तिर्न नसक्दा २१ दिने शिशुलाई निकाल्यो मणिपाल अस्पतालले

अनिष भट्टराई |
जेठ १९, २०७८ बुधवार २१:२५ बजे

पोखरा  : धरौटी रकम बुझाउन नसक्दा पोखराको मणिपाल अस्पतालले २१ दिने संक्रमित शिशुलाई अस्पतालबाट निकालिदिएको छ । ९० हजार धरौटी र दिनको २२ देखि २८ हजारसम्म पैसा बुझाउन नसक्ने भएपछि अस्पतालले जानबहादुर बुढाका बच्चालाई निकालिदिएको हो ।

‘९० हजार रुपैयाँ धरौटी र सिरियसनेस हेरेर २२ देखि २८ सम्म लाग्ने बतायो, म मिस्त्री काम गर्नेले कसरी तिर्ने त्यत्रो ?’ बुढा बताउँछन् । अहिले बुढाले आफ्ना बच्चालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका छन् । वैशाख २३ गते मणिपाल अस्पतालमा जन्मिएका बालकमा जेठ १ गते समस्या देखिएको थियो । परिवारले ती बालकलाई जन्मिएकै अस्पतालमा पुर्‍यायो ।


अस्पतालमा उनलाई एनआइसियुमा ३ दिन राखेर उपचार गरियो । तर उनको स्वास्थ्यमा सुधार आएन । पुनः बच्चालाई जानबहादुरले १२ जेठमा अस्पतालमा भर्ना गराए । १३ जेठमा बच्चामा कोरोना संक्रमण पुष्टि भयो । कोरोना संक्रमित बच्चा राख्ने छुट्टै वाड नभएकाले मणिपालले राख्न गाह्रो मानेको अस्पतालको स्रोत बताउँछ । बालकमा कोरोना पुष्टि भएपछि अस्पतालले सुरुमा राख्नलाई आनाकानी गरेको जामबहादुर बताउँछन् ।

पछि राख्न मानेपनि निकै महँगो शुल्क सुनाएपछि आफूले बच्चालाई पश्चिमाञ्चल अस्पताल लगेको उनले बताए । ‘शुल्क सुन्दै डर लाग्ने, कहाँ तिर्न सकिन्छ र त्यत्रो ? पैसा तिर्न नसके लगिहाल्न भने,’ उनले भने ।

अस्पतालसँग केही सहुलियत मागेपनि ठाडै अस्विकार गरेको उनले बताए । अस्पतालले डिस्चार्ज गर्दा उनको अवस्था गम्भीर रहेको बताएको छ । डिस्चार्ज पत्रमा लेखिएको छ, ‘बच्चालाई प्याडियाट्रिक आइसियुमा राख्नु पर्ने अवस्था छ, तर बच्चाको अभिभावकले नमानेपछि मेडिकल अड्भाइस विपरीत बच्चालाई डिस्चार्ज गरिएको छ ।’ बच्चालाई डिस्चार्ज गर्ने दिन उनमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या थियो । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x