समाज

एचआइभी-एड्स सङ्क्रमित व्यक्तिको संरक्षण गर्न आग्रह

इकागज |
मंसिर १५, २०८० शुक्रबार २०:१२ बजे

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले एचआइभी एड्ससम्बन्धी सङ्क्रमित व्यक्तिको मानव अधिकारको प्रभावकारी संरक्षणका लागि भूमिका निर्वाह गर्न अनुरोध गरेको छ । आयोगले विश्व एड्स दिवस (डिसेम्बर १) का अवसरमा एचआइभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र २००१, राजनीतिक घोषणापत्र, वैश्विक एचआइभी एड्स रणनीति २०२१-२०२६, दिगो विकास लक्ष्य, राष्ट्रिय नीति रणनीति अनुसार सन् २०३० सम्म एड्स अन्त्य गर्ने लक्ष्य हासिल गर्न आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'सङ्क्रमित व्यक्तिको मानव अधिकारको प्रभावकारी सम्मान, संरक्षण तथा सम्वर्द्धनका लागि तीव्र गति (फास्ट ट्र्याक) प्रणालीअनुसार प्रभावकारी ढङ्गले कार्य अगाडि बढाउनु जरुरी छ ।' आयोगले उक्त व्यक्तिको पहिचान, परीक्षण, उपचार, तथ्याङ्क अद्यावधिक, जनचेतना, जीविकोपार्जन, एआरटीमा उपचार सेवा बाहिर रहेकालाई नियमित सेवामा जोड्न, उपचार सेवा प्रभावकारी बनाउन आग्रह गरेको छ ।


उक्त विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहले प्रभावकारी तवरबाट जनचेतना बढाउन, सबै तहले नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा प्रतिनिधिमूलक सहभागिता गराउन आयोगले आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिका लागि रोजगारीको व्यवस्था मिलाउन, सीपमूलक तथा आयमूलक कार्यक्रम लागू गर्न र सरकारका साथै निजी तथा व्यावसायिक क्षेत्र, नागरिक समाजबाट सहयोग गर्न आयोगले आग्रह गरेको छ ।


Author

थप समाचार
x