समाज

सरकारलाई अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयाेगकाे आग्रह

इकागज |
मंसिर १७, २०८० आइतबार १४:३५ बजे

काठमाडाैँ- राष्ट्रिय मानवअधिकार आयाेगले सरोकारवाला निकायलाई अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेकाे छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण र सम्वर्द्धनको विषयमा निरन्तर काम गर्दै आइरहेको आयोगले आइतबार ३२औं अपाङ्गता दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई विभिन्न समयमा शहरी क्षेत्रका सबै सडक, भवन तथा अन्य भौतिक संरचनाहरू अपाङ्गमैत्री हुने गरी निर्माण गर्न आग्रह गरेकाे हाे ।


यस वर्षकाे अपाङ्गता दिवस 'दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता' भन्ने नाराका साथ मनाइँदैछ । 

नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र समेत भएको हुँदा ती महासन्धिका प्रावधान, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अन्य कानुन र नीतिहरूले व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व भएकाे आयाेगले विज्ञप्तिमा उल्लेख गरेकाे छ। ​

विज्ञप्तिमा ​भनिएकाे छ, 'अपाङ्गता भएका व्यक्तिको परिचयपत्र नियमित र व्यवस्थित रुपमा प्रदान गर्न, अपाङ्गता भएका व्यक्तिहरूको यकीन तथ्याङ्क सङ्कलन गरी सोही अनुरूपको नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गर्न, अपाङ्गता भएका व्यक्तिहरूलाई समावेशिताको सिद्धान्तअनुरूप अर्थपूर्ण र सार्थक सहभागिताको वातावरण बनाउनुपर्छ ।' 

'अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मानमा चोट पुऱ्याउने कुनै पनि शब्द प्रयोग नगर्नुका साथै शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा पहुँच कायम गरी उनीहरूको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूको संरक्षण र संवर्द्धन गर्न सिफारिस गरेको पुन:स्मरण गराउँछ,' विज्ञप्तिमा ​भनिएकाे छ, 'अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारका सवालमा अझै समस्या रहिरहनु उपयुक्त नभएको विषयमा संघीय, प्रदेश तथा स्थानीय तहका सरकार लगायत सम्बन्धित सबैको आयोग पुनः ध्यानाकर्षण गराउँदछ।'

साथै, आयोगले गरेका सिफारिस नेपाल सरकार लगायत सबै सरोकारवाला निकायहरूबाट पूर्ण रूपमा कार्यान्वयन हुनेमा आयोगले विश्वास लिएको आयाेगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलले जानकारी गराए । 

 


Author

थप समाचार
x