सौराहामा हुँदैछ नेपाल गोही संरक्षण मेला
चितवन- अति सकटापन्न अवस्थामा रहेको घडीयाल गोही संरक्षण गर्ने उद्देश्यले चितवनमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना हुने भएको छ । उक्त गोही मेला चितवनको पर्यटकीय क्षेत्र सौरहामा यही मंसिर २२ र २३ गते हुने भएको हो ।
गोही प्रजातिको प्रभावकारी संरक्षण, स्थानीय समुदायको सहभागिता वैज्ञानिक सूचना र जानकारीका साथै समग्र गोही प्रजातिको दिगो संरक्षण रणनीति तयार र नयाँ पिँढीमा संरक्षण संस्कृतिको विकास गर्नका लागि मेलाको आयोजना गरिएको संयोजक रन्जना भट्टले बताइन् । केयर अफ नेचरको आयोजनामा हुने उक्त मेला दुई दिनसम्म हुने छ ।
गोही मेलामा गोही प्रजातिको सन्दर्भमा सूचनामूलक श्रव्य दृश्य सामग्री पोस्टर चित्रकला तथा सूचना केन्द्रको अवलोकनका साथै स्थानीय कला संस्कृति खानाका परिकारलगायतका स्टलहरू पनि रहने छ ।
मेलाको अवधिभर संरक्षणसम्बन्धी नाटक गीत नृत्यलगायतका विभिन्न कार्यक्रमहरू रहने संयोजक भट्टले बताइन् । उक्त मेलामा विभिन्न ८ विद्यालयहरूमा संरक्षण शिक्षा सञ्चालन हुने उनले बताइन् ।
गोही मेलाले पर्यटकहरूलाई आकर्षण गर्नुका साथै गोही प्रजाति संरक्षणमा मद्दत पुग्ने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताए ।
नेपालमा घडीयाल र मगर दुई प्रजातिका गोही पाइने गरेको छ । यिनीहरूकाे संख्या घट्दो क्रममा रहेको छ । नेपालमा घडीयाल गोही २ सय ३९ वटा रहेको छ भने मगर गोही गणना हालसम्म भएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया