समाज

भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई ५० हजार राशिको पुरस्कार

इकागज |
मंसिर १८, २०८० सोमबार १०:३९ बजे

फाइल तस्बिर

काठमाडौँ - भ्रष्टाचार विरुद्ध कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ धनराशिको पुरस्कार प्रदान गरिने भएको छ । 

नेपाल पत्रकार महासंघ झापा शाखामा सो राशीको पुरस्कार स्थापना गर्न लागिएको हो । भ्रष्टाचारकै कारण देश विकसित हुन नसकेको अवस्थालाई मध्यनजर गरी अक्षयकोषसहित पुरस्कार स्थापनाबारे हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आइतबार काठमाडौं स्थित पत्रकार महासंघमा सम्झौता भएको हो । पुरस्कार झापाका एक जना भ्रष्टाचार विरुद्ध कलम चलाउने पत्रकारले पाउनेछन् । सम्झौताअनुसार पाँच लाख रूपैयाँको अक्षयकोष राखिनेछ । सम्झौतामा फाउण्डेशनको तर्फबाट अध्यक्ष हेम पाठक र पत्रकार महासंघका तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गरे । सम्झौतापछि कुरा गर्दै अध्यक्ष गिरीले भ्रष्टाचारविरुद्ध, सुशासन प्रवर्द्धन गर्नका निम्ति कलम चलाउने झापाका एक जना सञ्चारकर्मीलाई पुरस्कृति गर्नका निम्ति पुरस्कार स्थापना गरिएको बताए । उनले ५० हजार ५ सय ५५ राशिको पुरस्कार हरेक वर्ष वितरण गरिने बताए । उनले पत्रकार महासंघ झापामार्फत वितरण गरिने पुरस्कारको अक्षयकोषका लागि हेम सरिता फाउण्डेशनले एकमुष्ट रुपमा ५ लाख रुपैयाँ प्रदान गर्ने र ५ लाख रुपैयाँको ब्याजबाट पुरस्कार वितरण गर्ने बताए । 


कार्यक्रममा हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिकाका अध्यक्ष हेम पाठकले आजको सम्झौता नयाँ काम र नयाँ शुरुवात नभइ २०१० मा स्थापना गरिएको पुरस्कार पुनः शुरु गरिएको बताए । उनले २०१० मा स्थापना गरेको पुरस्कारको निरन्तरतालाई झापाबाटै निर्णय गर्नेगरी पुरस्कार प्रदान गरिने बताए । 

उनले यस वर्षदेखि पुरस्कार वितरण गर्नुभन्दा पहिला विज्ञापन, निवेदन आह्वान गरी पुष्टि हुनेगरी डकुमेण्ट पेस गरेपछि मात्रै पुरस्कृत हुने व्यक्ति चयन गर्नुपर्ने सम्झौता राखेको बताए । 


Author

थप समाचार
x