समाज

‘विदेशबाट पैसा पठाउँदा आधिकारिक निकायबाट पठाउनु’

इकागज |
मंसिर १८, २०८० सोमबार १४:१ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले वैदेशिक रोजगारमा गएका नेपालीलाई आधिकारिक निकायबाट मात्र पैसा पठाउन अनुरोध गरेको छ । 

अनलाइन सम्बद्ध विभिन्न ठगीको माध्यमबाट प्राप्त गैरकानुनी रकम नेपालस्थित विभिन्न बैंकको खातामा जम्मा गरिदिने भएकाले त्यस्तो काम गैरकानुनी रहेको ब्यूरोले प्रस्ट पारको छ । 


सोमबार ब्यूरोले एक सूचना जारी गर्दै भनेको छ, 'विदेशमा दुःख र परिश्रम गरी कमाएको पैसा गैरकानुनी रुपमा परिणत हुने भएकाले कानुनको भागीदार हुनुपर्छ । विदेशबाट रकम पठाउँदा आधिकारिक निकायबाट मात्र अनुरोध गर्दछौँ ।'

सामाजिक सञ्जालबाट विभिन्न झुटा प्रलोभन देखाउने हुँदा त्यस्तो लोभमा नपर्न र ठगिनबाट बच्न ब्यूरोले अनुरोध गरेको छ ।

वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध रुपमा सम्पर्क गरी नेपालमा रकम पठाउने गरेको पाइएको ब्यूरोले बताएको छ । 

‘नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरेर ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पठाइदिनु हुन’ भन्ने गरेको पाइएको छ । यसरी विदेश रकम प्राप्त गरे बापत निज अमुक व्यक्तिले हुन्छ म नेपालमा रहेको तपाईंले भनेको आफन्तलाई सटही बराबरको रकम जम्मा गरिदिन्छु,’ सूचनामा लेखिएको छ ।


Author

थप समाचार
x