सोती नरसंहारका पीडित परिवारको न्यायको निम्ति काठमाडौंमा खबरदारी सभा
काठमाडौँ - रुकुम सोती नरसंहारका पीडित परिवारको न्यायको निम्ति भन्दै काठमाडौंमा खबरदारी सभा आयोजना गरिएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ भइरहँदा जात व्यवस्था उन्मूलन मोर्चा नेपालले काठमाडौंको रत्नपार्कमा खबरदारी सभा आयोजना गरेको हो । साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्दा टुङ्गो नलाग्दा पीडित परिवार थप पीडामा परेको भन्दै खबरदारी सभाको आयोजना गरिएको जात व्यवस्था उन्मूलन मोर्चा नेपालकी महासचिव रुपा सुनारले जानकारी दिइन् । रुकुम जिल्ला अदालतमा अन्तिम सुनुवाइ भइरहेको अवस्थामा पीडित परिवारलाई न्याय दिनुपर्ने उनले बताइन् ।
खबरदारी सभामा सहभागीहरूले रुकुम सोती नरसंहारका पीडित परिवारहरूलाई न्याय दे, न्याय नमार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । २०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला स्थानीयले योजना बद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । ६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया