समाज

नेपालमा दलित समुदायको संख्या १३.४ प्रतिशत

इकागज |
मंसिर १८, २०८० सोमबार २०:१२ बजे

काठमाडौँ- राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा दलित समुदायको संख्या १३ दशमलव ४ प्रतिशत रहेको जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार काठमाडौँमा राष्ट्रिय जनगणना २०७८, दलित समुदायको तथ्याङ्क प्रस्तुति कार्यक्रमको आयोजना गर्दै नेपालमा पहाडी दलित समुदाय ८ दशमलव ६ प्रतिशत र तराई दलित समुदाय ४ दशमलव ८ गरि दलित समुदायको संख्या १३ दशमलव ४ प्रतिशत रहेको जनाएको हो ।

तथ्याङ्क अनुसार नेपालमा पछिल्लो जनगणना भएको मितिसम्म नेपालमा ३९ लाख ४ सय ६९ दलित समुदाय रहेका छन् । प्रदेशगत रूपमा सबैभन्दा बढी दलित समुदायको बसोबास कर्णाली प्रदेशमा २३ दशमलव ५ प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ५ दशमलव ९ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । त्यस्तै कोशी प्रदेशमा ९ दशमलव ७, मधेश प्रदेशमा १६ दशमलव ५, गण्डकी प्रदेशमा १८ दशमलव २, लुम्बिनी प्रदेशनमा १४ दशमलव ४ र सुदूरपश्चिम प्रदेशमा १७ दशमलव ५ प्रतिशत दलित समुदाय रहेको कार्यालयले जनाएको छ ।


कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले राष्ट्रिय जनगणनालाई हरसम्भव प्रभावकारी र तथ्यगत बनाउन खोजिएको बताए । आगामी दिनमा राष्ट्रिय तथ्याङ्कलाई सहि बनाउनका लागि सबै जिल्लामा तथ्याङ्क कार्यालय र प्रत्येक स्थानीय तहमा एक जना गणक राख्नुपर्ने उनले बताए ।

कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूले तथ्याङ्क कार्यालयको प्रभावकारी बढाएमात्रै यकिन राष्ट्रिय तथ्याङ्क आउन सक्ने धारणा राखेका थिए । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना अनुसार नेपालमा १ सय ४२ वटा जात/जातिहरू रहेका छन् , जसमध्ये १२५ वटा राष्ट्रिय जनगणनाकै निरन्तरता स्वरूप रहेका र १७ वटा नयाँ जात/जातिका रूपमा थपिएका छन् । 


Author

थप समाचार
x