समाज

जुम्लामा भेटिएका हुम्ली बालक रुँदै भन्छन्- 'मलाई डर लागेको छ, बाँच्‍न चाहन्छु'

इकागज |
जेठ २०, २०७८ बिहिवार १४:२९ बजे

जुम्ला : उपचारका लागि आर्थिक अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल वार्डमा हुम्लाको अदानचुली गाउँपालिका–३ रोकायागाउँका १३ वर्षीय बालक अखिल दमाईले जीवन बचाइदिन आग्रह गरेका छन् । घाँटीमा समस्या आएपछि हुम्लाबाट तीन दिनको पैदल हिँडेर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका कक्षा ६ मा अध्ययनरत बालक अहिले मृत्युको मुखमा पुगेका हुन् ।

उपचारका लागि प्रतिष्ठानमा पुगेका बालक दमाईले रुँदै भने,'मलाई डर लागेको छ, म बाँच्न चाहन्छु, मेरो बुवा जागिरे हुनुहुन्न, घर कमजोर छ, हामी गरिब छौँ, आर्थिक सङ्कटले थप उपचारका लागि बुवाले मलाई जुम्लाबाट अन्त ठाउँमा लैजान सक्नुभएको छैन, म बाँच्न चाहन्छु ।'


बालकलाई घाँटीको क्यान्सर भएपछि थप उपचारका लागि चितवन र काठमाडौँ सिफारिश गरिएको छ । एम्बुलेन्सको भाडासमेत आफूसँग नभएपछि उनका बुवा जाड दमाईले आर्थिक सहयोगको आग्रह गरेका छन् ।  उपचारमा संलग्न स्वास्थ्यकर्मीले रु सातदेखि आठ लाखसम्म जुटाउन सक्नुभयो भने छोरा बाँच्न सक्ने नत्र नसकिने जानकारी दिएपछि थप चिन्तित र एक्लो छोरा गुमाउँछु कि भन्ने चिन्ताले पिरोलीरहेको उनले बताए ।

आफ्नो छोरालाई सहयोग गर्न चाहने मनकारी व्यक्तित्वले सहयोग गर्न चाहेमा बालकका बुवाको मोबाइल नम्बर ९८६४९०५५२६ मा सम्पर्क गरी आवश्यक सहयोग गर्न सकिन्छ । सिधैँ बैंक खातामा सहयोग गर्न चाहनेले अखिलका बुवाको अदानचुली गाउँपालिकाको श्रीनगरमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर १२७१०४०६७८४१३०१ मा रकम जम्मा गर्न सकिन्छ । बालकको उपचारमा सहयोग पुर्‍याउनका लागि विभिन्न ठाउँबाट अहिलेसम्म रु २५ हजार रकम जुटेको छ ।


Author

थप समाचार
x