समाज

विराटनगरको कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु

इकागज |
मंसिर २०, २०८० बुधबार १७:१७ बजे

फाइल फोटो

काठमाडौँ - विराटनगरको सात घुम्तीमा रहेको एक कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मुख्य बजारको बीच सातघुम्तीमा रहेको कबाडी गोदाममा बुधबार भएको आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । 


दिउँसो करिब डेढ बजे परफ्युमको बट्टा फुटाल्ने क्रममा गोदाममा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदारहरूले जनाएका छन् । आगलागीमा घाइते अन्य ३ जना सुशिला पासमान, रिता सरदार र पिंकी मण्डलको न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने किशोर पासमानको कोशी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुइर्को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

करिब २ घण्टा पछि आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका साथै विराटनगर महानगरपालिकाको दुई वटा, दुहबी र सुन्दर हरैचाको एक एक गरी ४ वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।


Author

थप समाचार
x