समाज

नेपालमा लागूऔषध कारोबारमा महिलाहरु बढी प्रयोग हुने गरेको प्रहरीको दाबी

इकागज |
मंसिर २०, २०८० बुधबार १९:५२ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा लागूऔषध कारोबारमा महिलाहरू बढी प्रयोग हुने गरेको पाइएको छ । 

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले सो कारोबारमा महिलाहरू बढी प्रयोग हुने गरेको अनुसन्धानको क्रममा खुल्न आएको जनाएको हो । नेपाल बार एशोसिएशन, महिला समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले महिलाहरूले त्यस्तो काम गर्दैनन् भन्ने विश्वासको आधारमा पनि उनीहरूलाई सो कारोबारमा बढी प्रयोग गरेको पाइएको बताए । उनले नेपालमा लागूऔषध प्रयोगकर्ताहरू बढ्नुमा आर्थिक समस्या नै मुल कारण भएको बताए । साथीभाइको संगतले पनि त्यसमा नाबालक, नाबालिकाहरु यसमा संलग्न हुने गरेको ब्यूरोको निष्कर्ष छ ।


ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक थपलियाले भने, ‘यो ड्रग्स कारोबारमा चाँही महिलाहरूलाई बढी प्रयोग गरेको देखिन्छ । किनभने महिलाहरू धेरै कुरामा के, कसो भने सोधीखोजी नगर्ने एउटा यो कुरा । अर्को, महिलाहरूले यस्तो काम गर्दैनन् भनेर मानिसहरूले विश्वास पनि गर्ने । त्यो भएको कारणले महिलाहरू यसमा बढी प्रयोग हुने गरेका छन् । २०७६ सालमा लागूपदार्थ प्रयोगकर्ताको संख्या १ लाख ३० हजार छ । यसमा महिलाको संख्या ८ हजार ७ सय छ । पुरुषको एक लाख २१ हजार छ । यसमा महिलाहरू बाहिर एक्सपोज कम हुन्छन् ।’
 
नेपालमा २०७६ सालको तथ्यांकअनुसार लागूऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार पुगेको छ । जसमा महिला संख्या ८ हजार ७ सय रहेको छ । महिलाहरू एक्सपोज हुन नचाहने भएकाले पनि उनीहरूको तथ्यांक कम देखिएको हुनसक्ने प्रहरीको बुझाई छ । 


Author

थप समाचार
x