समाज

४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरु

इकागज |
मंसिर २१, २०८० बिहीबार १४:१८ बजे

भक्तपुर- भक्तपुरवासीले ४४ लाख रकम सहयोग चन्दा संकलन गरी मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ एउटा मन्दिरको पुनर्निर्माण थालेका छन् । विशेष गरेर भक्तपुर नगरवासीले भक्तपुर नगरपालिका वडा नं ५ भीमसेनस्थानमा रहेको कुथु सुव्या दुगुद्य (मन्दिर) पुनर्निर्माण लागि इष्टमेट भएको ४४ लाख रकम सहयोग चन्दा संकलन गरी मन्दिर पुनर्निर्माण सकाउने योजनाका साथ काम थालिएको हो ।

पहिलो चरणमा जीर्ण मन्दिरको छानामा रहेको पोल अपा (झिंगटी इटा) झिकेर मन्दिर भत्काउन सुरु भएको हो । साइट देखाएर सोअनुसार मन्दिर भत्काउने कामको औपचारिक सुरुवात गर्न भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी मन्दिर स्थल पुगेकी थिइन् । उपमेयरको उपस्थितिमा स्थानीयबासीहरू सहभागी भएर यहाँ मन्दिर भत्काउने काम सुरु भएको छ । 


मन्दिर एक तल्ले मात्रै छ । मन्दिर २०७२ सालको महाभूकम्पले जीर्ण बनेको थियो । मन्दिरको उत्तर क्षेत्रमा जग भासिन गई अहिले मन्दिर असन्तुलनमा छ । साथै माथि छानामा पनि सबै झिंगतीहरू झरेर बिग्रिसकेको छ । साथसाथै पुरानो मन्दिर सबैतिर जीर्ण जस्तै भइसकेको छ । मन्दिर पूर्ण रूपमा ध्वस्त भने भएको छैन ।

मन्दिर पुनर्निर्माणका लागि भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका विष्णु मारिखूको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवांका अनुसार मन्दिर पुनर्निर्माणका लागि करिब ४४ लाखको लागत इष्टमेट भएको छ । यो सबै रकम सहयोग जुटाई मन्दिर पुनर्निर्माण गर्ने योजना अनुसार काम अगाडि बढाइएको उनले बताए । यस कारण मन्दिर पुनर्निर्माणमा सक्नेहरूले सकेको आर्थिक, भौतिक, नैतिक सहयोग गर्न उनले सबैसँग अनुरोध गरे । यसका लागि नगद तथा जिन्सी सहयोग गर्न सकिने उनले बताए ।

पहिलो चरणमा मन्दिर भत्काउने काम सुरु भएको उनले जनाए । त्यसपछि औपचारिक रूपमा जग हालेर काम सुरु गर्ने योजना रहेको उनले जनाए । मन्दिरको पुनर्निर्माण कार्य चैतभित्र सकाउने योजना राखिएको छ । 

यो मन्दिर भक्तपुरको विस्का जात्रामा लिंगो उठाउने भेलुखेल नजिकै छ । भक्तपुरको चुपिंघाटको पश्चित क्षेत्रमा पर्ने यो मन्दिर झण्डै १०/१५ रोपनीको सार्वजनिक जग्गाको बीचमा रहेको छ । मन्दिरको वरिपरि भीमसेन देवता, ती मन्दिरहरूभित्र पस्ने आकर्षक दुई वटा कलात्मक शैलिका प्रवेशद्वार, सार्वजनिक पाटी, सामूहिक भवन, भोज खुवाउनका लागि बनाइएको बन्दोबस्तसहितको भवनलगायतका छन् । यो सार्वजनिक क्षेत्रमा भएका झण्डै एक दर्जन भौतिक संरचनाहरू पनि यसरी नै करोडौंको आर्थिक सहयोग चन्दा संकलन गरी यसअघि नै बनेका थिए । 

युवा इतिहासविद् ओम धौभडेलका अनुसार भक्तपुरको यो मन्दिर प्रख्यात भएर पनि चर्चामा नआएको मन्दिर हो । यो मन्दिरमा पूजा गर्न देश विदेशका मानिसहरू आउने उनले सुनाए । 

मन्दिरमा विशेष गरेर नेवार समुदायको देवाली पूजाका महिनाहरूमा विशेष पूजा गर्न आउनेहरू हुन्छन् । यो भनेको प्रत्येक वर्ष चैतदेखि सिथिनखा पर्वसम्मको केही महिना हो । यी महिनाहरूको प्रत्येक आइतबार र बिहीबार गरी हप्तामा दुई दिन यो मन्दिरमा आइ देवाली पूजा गर्न आउनेहरूको भीड लाग्ने गर्दछ ।  
 


Author

थप समाचार
x