समाज

किन छरिन्छ शतबीज ?

इकागज |
मंसिर २५, २०८० सोमबार ८:३० बजे

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- आज मार्ग कृष्ण पक्षको चतुर्दशी । पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा शतबीज छरेर मनाइएको छ । आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ । 

शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरिएको थियो ।


यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । श्रद्धालुहरू त्रयोदशीको दिन राति पितृका नाममा दीप बाली जाग्राम बसेका थिए । अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै नदीमा बत्ती बगाउने परम्परा छ ।

श्रद्धालुहरू चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गर्दछन् । शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमलालगायत फल र विभिन्न किसिमका फूल हुन्छन् ।

पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्न र शतबीज छर्न व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका शतबीज छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको छ ।


Author

थप समाचार
x