समाज

भेरी अस्पताल कुटपिट प्रकरण

छानबिन समितिको प्रतिवेदनप्रति स्वास्थ्यकर्मी असहमत, बाँकेमा आन्दोलन

इकागज |
जेठ २०, २०७८ बिहीबार २०:४६ बजे

बुटवल : बाँकेस्थित भेरी अस्पताल नेपालगञ्‍जमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले बिहीबार बेलुका पनि अस्पताल परिसरमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् । १३ गते राति एक जना कोभिड-१९ संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि आक्रमण गर्नुका साथै अस्पतालभित्र तोडफोड गरेका थिए । 

घटनापछि गठन गरिएको छानबिन समितिले ४ दिन लगाएर बुधबार  बुझाएको प्रतिवेदन स्थानीय प्रशासनले सार्वजनिक गरेको थियो । जसमा अस्पतालको कमजोरीले गर्दा आवेगमा आई डाक्टर, नर्समाथि आक्रमण भएको उल्लेख छ ।


सार्वजनिक प्रतिवेदनप्रति पीडित डाक्टर तथा नर्सहरूले असहमति जनाएका छन् । त्यसको विरोधमा अस्पतालका डाक्टर तथा नर्सहरूले दोषीमाथि कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दै आएका हुन् ।

बिहीबारको  प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले पिटाइ खाई खाई पनि काममै छौं,  दोषीलाई कडा भन्दा कडा कारवाही गर, स्वास्थ्य सुरक्षा ऐन लागू गर भन्‍ने जस्ता प्लेकार्ड छातीमा टाँसेका थिए । 

आन्दोलन उपचारमा अवरोध हुने गरी सचालन नगरिएको एक स्वास्थ्यकर्मीले बताए । उनका अनुसार दोषीलाई कारबाही हुनेमा शंका देखिएपछि आन्दोलन बढ्दै गएको छ । 


Author

थप समाचार
x