समाज

अध्यागमनका कर्मचारीले भिजिट भिसामा जानेसँग प्रतिव्यक्ति ४० देखि ५५ हजार लिन्थे

इकागज |
मंसिर २७, २०८० बुधबार १३:१९ बजे

काठमाडौँ-  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल एयरलाइन्सका दुई कर्मचारी र अध्यागमन कार्यालयका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अनिल यादव र होम पोखरेललाई अपराध कार्यालयबाट खटिएका टोलीले नियन्त्रणमा लिएका हुन् ।


भिजिट भिसामा पठाउनेसँग सेटिङमा मिलेर काम गरेको आरोपमा तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खाडी तथा युरोपेली मुलुक पठाउनेसँग सेटिङमा मिलेर काम गर्ने उजुरी परेको आधारमा नियन्त्रण लिएको कार्यालय प्रमुख सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

उनका अनुसार सेटिङ गरेबापत अध्यागमनका कर्मचारीले एकजनाको सेटिङ गरेबापत ४० देखि ५५ हजार रुपैयाँ लिने गरेका थिए ।

‘नयाँ मान्छे उड्ने भएमा ५५ हजार र पुरानो जानेमा ४० हजार रुपैयाँ लिने गरेका थिए कर्मचारीले,’ उनले भने,’ अध्यागमनमा पहिले नै उनीहरूको नाम पुगिसकेको हुने रहेछ । नाम आउनसाथ धेरै चेकजाँच नगर्ने  रहेछन् ।‘

भिजिट भिसाका कागजात प्लस टु पास, बैंकमा २ लाख रुपैयाँ डिपोजिट र नक्कली पुलिस रिपोर्ट आवश्यक पर्छ । सेटिङ भएकाले सबै नक्कली कागजात भएका यात्रुहरूलाई एयरलाइन्स र अध्यागमनका कर्मचारीले सहजै जान दिने गरेको उनले बताए ।

एयरलाइन्सका कर्मचारीले एक जनाबापत १० देखि १५ हजार लिने गरेको अनुसन्धानबाट खुलेको राठौरले बताए । विभिन्न समयमा एजेन्टले भिजिट भिसामा नक्कली कागजपत्र बनाएर विदेश उडाउने गरेका थिए । 

दुई महिनाको अप्रेशनमा अध्यागमन, नेपाल एयरलाइन्सका कर्मचारी र मुख्य एजेन्टलाई पक्रन सफल भएको उनले जानकारी दिए ।

 

 

 


Author

थप समाचार
x