समाज

अध्यागमन अधिकृतलाई पैसा बुझाउने ट्राभल एजेन्सीका सञ्‍चालक र कर्मचारी पक्राउ

इकागज |
मंसिर २९, २०८० शुक्रबार १६:३१ बजे

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतलाई रकम बुझाउने दुई जना एजेन्टलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

कार्यालयका सूचना अधिकारी मिलन केसीका अनुसार काभ्रेपलाञ्चोक पाँचखाल ३ का निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ ( लामा ), रामेछाप दोरम्पा गाउँपालिका ७ का  पदम लामा  निमा छिरिङ ट्राभल्सका कर्मचारी र ग्रीस पठाइदिन्छु भने ठगी गर्ने गोरखा पालुङटार नपा ९ का होम बहादुर तामाङलाई पनि


तनियन्त्रणमा लिएको हो ।

उनीहरूले अध्यागमनका अधिकृतलाई नक्कली कागजात बनाएर विदेश उडाउन ४० देखि ५५ हजार उपलब्ध गराउने गरेको केसीले बताए । यसअघि अध्यागमनका अधिकृत नीरबहादुर खड्कालाई कार्यालयका टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले ३ सय जनालाई सेटिङ गरेर उडाउन सहज प्रदान गरेका थिए ।

‘उनीहरूले भिजिट भिसामा विदेश जानेलाई नक्कली कागजपत्र दिएर उपलब्ध गराउने गरेका थिए,’ सूचना अधिकारी केसीले भने,’ अध्यागमनका कर्मचारीसँग सेटिङसमेत गर्ने गर्थे ।‘

एजेन्टले महिलालाई विदेश पुर्‍याएर शोषणमा पार्ने र भनेजस्तो काम नदिलाइदिने गरेको उनले बताए । विदेश पुगेका पुरुषलाई जोखिमपुर्ण काममा लगाइदिने र स्वदेश फर्काउन कुनै पहल नगर्ने गरेको उनले जानकारी दिए ।

कार्यालयमा पीडितले दुःख पाएको विभिन्न किसिमको यातना भोग्नुपरेको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको उनले जनाए । यसअघि नेपाल वायुसेवा निगमका कर्मचारी  र अर्का एकजना एजेन्टलाई प्रहरीले प्रकाउ गरिसकेको छ ।

त्यसैगरी होमबहादुर तामाङलाई ग्रीस पठाइदिन्छु भनी ठगी गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएको हो ।  उनले लक्ष्मण सापकोटा समेत २ जनाबाट गरी १३ लाख ८४ हजार रुपैयाँ लिएर सम्पर्कविहिन भएका थिए ।

उनले ग्रीसको प्रतिष्ठीत कृषि कम्पनीमा १ लाख १५ हजार तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

 


Author

थप समाचार
x