फोहोर व्यवस्थापन गर्न आफै सक्षम छौँ : काठमाडौँ महानगर
फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफै सक्षम रहेको बताएको छ । महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्ने कुरा गलत रहेको बताएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफै सक्षम भएकाले बञ्चरेडाँडामा कुनै पनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी विभिन्न क्लस्टरहरू निर्माण गरिसकेको दाबी गरे । उनले फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर महानगरले काम गरिरहेको बताए ।
‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको कुरा छ । यो नेपवेस्ट भन्ने संस्था हो । योभन्दा पहिला नेपाल सरकारले लगानी बोर्डमा पास गरेर पठायो, त्यसमा अधुरा कुराहरू भएकाले लगानी बोर्डले निर्णय गर्न सकेन'उनले भने 'नगरपालिकामध्येको महानगरपालिका भएको कारणले गर्दा यो प्रोजेक्टलाई महानगरपालिकाभित्र ल्याइयो र यसलाई गहिरो अध्ययन गरिसकेपछि नेपवेस्ट भन्ने कम्पनी काठमाडौँ महानगरपालिकालगायतका लागि अझै अधुरै नीति नियम भएकाले फेरि यसलाई काठमाडौँले नेपाल सरकारतिर नै लगिएको अवस्था छ ।'
'विविध कारणले गर्दा बञ्चरेडाँडामा रहेका यी समस्याको समाधान नहोला भन्ने कुरा होइनन् । हामी आफै पनि सक्षम भएकाले बञ्चरेडाँडामा कुनै पनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी अब हामीले विभिन्न क्लस्टरहरू निर्माण गरिसकेका छौँ र फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर हामी अघि बढिसकेको अवस्था छ’ उनले भने ।
यता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गरेका छन् । उनले फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा गर्नेुपर्ने बताएका थिए । काठमाडौँ महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले समन्वय गरी काम गर्ने हो भने फोहोर व्यवस्थापन राम्रो र दिगोसँग गर्न सकिने उनको भनाइ थियो ।
‘हामीले गर्ने कामहरू केही अझै बाँकी छन् । काठमाडौँ महानगरपालिकाले वाचा गरेका कामहरू धेरै बाँकी छन् । फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीन कुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्षभित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ’ मेयर साहले भने ।
महानगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गरे केही हदसम्म फोहोर व्यवस्थापन हुनेछ । नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट सहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ । त्यसका लागि घर र भान्साबाट फोहोर वर्गीकरण गर्न जान्नुपर्ने विज्ञहरूको राय छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया