समाज

युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न आयोगको आग्रह

इकागज |
पुस १, २०८० आइतबार २०:४३ बजे

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले रुस-युक्रेनको युद्धमा परी मृत्यु भएकाका नेपालीको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
 
आयोगले युद्धमा परी घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै उक्त आग्रह गरेको हो ।
 
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जानेस्थिति अन्त्य गरी नागरिकको जीउधनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।' 
 
रुस-युक्रेनबीच भइरहेको युद्धका क्रममा विभिन्न गैरकानुनी बाटो प्रयोग गरी नेपाली त्यहाँका सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको, केही घाइते भएका, अझै पनि सयौँको सङ्ख्यामा रुस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी विभिन्न स्रोतबाट जानकारी प्राप्त भएको जनाएको छ ।

त्यस्तै, नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन भएको समेत आयोगले भनाइ छ ।



Author

थप समाचार
x