समाज

'वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई मताधिकार दिएमात्रै उनीहरूका मुद्दा सम्बोधन हुन्छन्'

इकागज |
पुस २, २०८० सोमबार ११:३१ बजे

काठमाडौँ- वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरूले उनीहरूका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरूले बताएका छन् । सोमबार ललितपुरमा भएको वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटो विषयक सडक बहसमा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

उनीहरूले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरूले श्रमिकका मुद्दामा बोल्न सुरू गर्ने बताए । कार्यक्रममा बोल्दै ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीको रुपमा विभिन्न सहरमा गएर काम गर्नेहरूलाई मताधिकार दिएमात्रै राजनीतिक पार्टीहरूले उनीहरूका मुद्दा सुन्ने बताए । उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले पठाएको रेमिट्यान्स सही ठाउँमा प्रयोग हुन नसकेको बताए ।


‘वैदेशिक रोजगारीको रुपमा विभिन्न सहरमा गएर काम गर्नेहरूलाई मताधिकार दिनुपर्छ । किनभने कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने राजनीतिक पार्टीहरूले उहाँहरूका मुद्दामा बोल्न थाल्नुहुन्छ । जब मत खाडि मुलुकबाट आउन थाल्छ, त्यसपछि उहाँहरूका मुद्दाले ठाउँ पाउँछ । वैदेशिक रोजगारीमा गएका जतिपनि श्रमिक छन्, ति श्रमिकहरूले पठाएको रेमिट्यान्सको सही सदुपयोग भएको छैन'  कुँवरले भने 'त्यसलाई उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्छ, राज्यले त्यस्तो पोलिसि निर्माण गर्नुपर्छ । ३० लाखभन्दा बढी श्रमिक गएर जुन रेमिट्यान्स यहाँ भित्रिन्छ, त्योभन्दा बढी गैरभारतीय श्रमिकहरू यहाँ काम गरेर उहाँहरूले त्योभन्दा ठूलो रेमिट्यान्स बाहिर लैजानु हुँदो रहेछ । रोजगारीमा जाने श्रमिकहरूलाई सीप दिनुपर्छ ।’

कार्यक्रममा रोजगार व्यवसायी राजेन्द्र भण्डारीले श्रमिकलाई सीपयुक्त बनाएर पठाउन सके थोरै संख्यामा गएर धेरै रेमिट्यान्स आउने बताए । उनले विदेशमा गएका श्रमिकहरूबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाउन आवश्यक रहेको बताए ।

‘हामीले श्रमिकलाई सीपयुक्त बनाएर पठाउन सके उहाँहरूले थोरै संख्यामा गएर धेरै रेमिट्यान्स पठाउनुहुन्छ । नेपालमा जति पनि शिक्षामा लगानी हुन्छ, यहाँ राम्रा विद्यालयमा पढाएका विद्यार्थीहरू बाहिर गएर उतै बस्ने र यताको बेचेर सम्पती लैजाने गर्नुहुन्छ । यहाँ विदेशमा गएका श्रमिकहरूबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाएर राज्यले युवाहरूलाई जोड्नुपर्छ' भण्डारीले भने 'विदेशमा पठाउनुपर्छ भन्दा पनि गुणस्तरीय श्रमिक पठाऔँ । बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दूतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्छ । सुरक्षित आप्रवासनको लागि हामी जिम्मेवार हुनुपर्छ ।’

रोजगार व्यवसायी भण्डारीले बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दूतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्ने र श्रमिकको सुरक्षित आप्रवासनको लागि जिम्मेवार हुनुपर्ने बताए ।


Author

थप समाचार
x