विश्व सामाजिक मञ्चको सोह्रौं संस्करण नेपालमा हुने
काठमाडौँ- विश्व सामाजिक मञ्चको सोह्रौं संस्करण नेपालमा हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विश्व सामाजिक मञ्च आयोजक समितिले सो जानकारी गराएको हो ।
संस्करण आगामी फागुन ३ देखि ७ गतेसम्म काठमाडौँमा हुनेछ । सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेबाट आरम्भ भएको उक्त विश्व सामाजिक मञ्च यसअघि दक्षिण एसियामा सन् २००४ मा आयोजना भएको थियो । फेब्रुअरी १५ का दिन बिहान ऐक्यबद्धता र्यालीपछि खुलामञ्चमा जम्मा हुनेछ ।
विश्वभरबाट ५० हजारको संख्यामा सहभागी हुने र सो पछिका ४ दिनसम्म विभिन्न १३ वटा विधाहरूमा विभिन्न सत्रहरू आयोजना हुने आयोजक समिति सदस्य नेत्र तिमिल्सिनाले बताए । उनले सम्मेलनमा विश्वभरका विभिन्न सामाजिक सवालहरूलाई एकै थलोमा छलफल गरी आर्थिक असमानता, युद्ध, द्वन्द्व, बेथिति, जलवायु परिवर्तन, अन्याय, अत्याचार, मानव बेचबिखन, शोषण जस्ता सवालहरूमा केन्द्रित रहने बताए ।
उनले विश्व सामाजिक मञ्चले विश्वभर नै शान्ति, समानता, स्थिरता, जलवायु न्याय, मानव अधिकार, श्रमिक अधिकार, खाद्य सम्प्रभुताका पक्षमा आवाज उठाउँदै आएको पनि बताए ।
उनले काठमाडौँको राष्ट्रिय सभागृहमा सो कार्यक्रम हुने तयारी रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया