समाज

वैदेशिक रोजगारीको उज्यालो र अँध्यारो पाटो विषयमा कांग्रेसको डबली बहस

इकागज |
पुस ३, २०८० मंगलबार ७:२० बजे

काठमाडौँ- नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटोको विषयमा डबली बहस गरेका छन् । युनियनले विभिन्न सरोकारवालाहरूसँग सोमबार बिहान जावलाखेल डबलीमा बहस गरेको हो ।

बहस कार्यक्रममा प्रतिनिधिसभा सदस्य रमा पौडेलले वैदेशिक रोजगारीले आर्थिक अवस्था सुधारदेखि धेरै राम्रा काम गरे पनि नेपाली समाजले ठुलो सामाजिक मुल्य चुकाईरहेको बताइन् ।


उनले भनिन्  'वैदेशिक रोजगारीले रेमिट्यान्स आएको, सीप सिकेर आएको तर समस्याहरू पनि सृजना गराएको छ ।' वैदेशिक रोजगारीमा जाने युवाहरूलाई तत्काल रोक्न नसकिने भएकाले सुरक्षित एवं मर्यादित आप्रवासनमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताइन् 

नेपालको ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले युवाहरूलाई विदेशमा भन्दा स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्ने बताए । वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको बताउँदै युवालाई सधै प्रवासी मात्र बनाउन नहुने तर्क राखे । कुँवरले वैदेशिक रोजगार बोर्डमा श्रमिकहरूबाट उठाइएको पैसाको कल्याणकारी कोषको समेत दुरुपयोग भइरहेकोप्रति खबरदारी गर्दै कोषलाई श्रमिकको हितमा मात्र प्रयोग गर्नुपर्ने बताए । ट्रेड युनियन काँग्रेसले आप्रवासी श्रमिकहरूको हकहितको लागि विदेशमा सर्पोट ग्रुप निर्माण गरेको उल्लेख गर्दै मर्यादित रोजगारी र कार्यस्थलबाट नै मताधिकार हुनुपर्ने माग गरे ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतीले वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा गएका श्रमिकलाई समस्या पर्दा समस्या हल गर्न सकेपनि गैरकानुनी बाटोबाट जाने श्रमिकहरूको सहयोग र उद्धार गर्न समस्या परेकाले वैधानिक बाटोबाट मात्र विदेश जान सुझाव दिए ।

उनले विभिन्न सञ्‍चार माध्यममा बोर्डप्रति नकारात्मक टिप्पणीहरू आएपनि सदैव श्रमिक र श्रमिकका परिवारको हितमा काम गर्दै आएको दाबी गरे । बोर्डले युवा पुस्तालाई विदेश जानु अगाडि सुरक्षित आप्रवासनबारे अभिमुखिकरण तालिम, विदेशमा समस्या पर्दा उद्धार, मृत्यु भएमा अन्तिम संस्कारसम्मका सहयोग गर्दै आइरहेको बताए ।

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार व्यवसायीलाई हिलो छ्याप्ने काम बन्द गर्नुपर्ने आग्रह गर्दै सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी निर्माण गर्नु महासंघको प्रमुख चासो र जिम्मेवारी भएको बताए ।अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि विना कुँवर थापाले सम्बन्धित सबै सरोकारवालाहरू एकअर्कामा समन्वय गरी काम गरेमा आप्रवासी श्रमिकहरूको हित हुने बताए ।


Author

थप समाचार
x