समाज

जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह

इकागज |
पुस ३, २०८० मंगलबार १०:५३ बजे

काठमाडौँ- विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडीको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा सामुहिक विवाहको कार्यक्रम आयोजना गरिएको हो ।

भगवान श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामुहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ । सामुहिक शुभ विवाहका लागि लगन आवश्यक नभएकाले विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।


विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोतेसहितका आवश्यक पर्ने सबै सामग्रीहरू परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको छ । विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनोट गर्ने काम भएको छ ।

विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन परिषद्ले नै गरेको थियो । यसैबीच जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको श्री सीताराम स्वयम्बरको विश्वकै ठूलो आकृति बनाएका भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जर पनि सोही सामुहिक विवाह कार्यक्रममा स्वयम्वर गरेका छन् ।

जानकी मन्दिरमा भइरहेको सामूहिक विवाह समारोहमै उनले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयम्वर गरेका हुन् । विगत केही वर्षदेखि विश्व हिन्दु परिषद्ले सामुहिक विवाहको आयोजना गर्दै आएको छ । 

यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै अर्थका कारणले विवाह हुन नसकेकाहरूलाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तहरूले जनाएका छन् । विवाह गरेकाहरूको कानूनी प्रक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए ।


Author

थप समाचार
x