‘आँखा देखाउने डाक्टरलाई आशीर्वाद’
टक्सार (भोजपुर)- दुर्गम पहाडी जिल्ला भोजपुरमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया भएको छ । स्थानीय ठाउँमा सञ्चालित शिविरमा आँखाको शल्यक्रिया भएर स्पष्ट देख्न थालेपछि ८० वर्ष नाघेका वृद्धवृद्धा सबैभन्दा धेरै खुसी देखिए ।
भोजपुर नगरपालिका दाँवा घर भएकी ८२ वर्षीया लक्ष्मीदेवी चौहानले शिविरमा आँखाको शल्यक्रिया गराइन् । उनले आँखा देख्न थालेपछि भनिन्, 'हामीलाई आँखा देखाउने डाक्टरलाई राम्रो होस्, आर्शीवाद छ । सधैं धमिलो आँखा देख्थे अहिले सबै देख्न थालेकी छु ।'
उनी मात्र होइन भोजपुर-७ की सीता भुजेल पनि आँखाको शल्यक्रिया भएपछि खुसी छिन् । शिविरमा पाँचथरकी तुलसी राईले आँखाको शल्यक्रिया गराइन् । उनले भनिन्, 'शिविरमा शल्यक्रिया गराएपछि छ्याङ्ग देख्न थालेको छु ।'
शिविरमा भोजपुरसहित जिल्ला बाहिरका नागरिकले पनि सेवा लिएका जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घका कोषाध्यक्ष सम्झना प्रधानले बताइन् । उनका अनुसार शिविरमा ९० वर्षसम्मका वृद्धवृद्धाले सेवा लिएका हुन् ।
उपचारका लागि अन्यत्र जान आर्थिक तथा पारिवारिक समस्या हुने भएकाले जिल्लामा सञ्चालन भएको शिविर प्रभावकारी बनेको आयोजक नेपाल नेत्रज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले बताए । उनले भने, 'रु ५० तिरेर वर्षौँदेखि आँखा नदेख्ने समस्या भएका बिरामीलाई शिविरले सुविधा दिएको छ ।'
तामाङका अनुसार विराटनगर आँखा अस्पताल रानी र केन्द्रको आयोजना तथा सिबिएम संस्थाको सहयोगमा सञ्चालित शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने पाँच सय २१ जनाको परीक्षण गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका, जेष्ठ व्यक्ति तथा अन्य विविध कारणले वर्षौँदेखि आँखाको समस्या झेल्न बाध्य नागरिकलाई आफ्नै पालिकामा सञ्चालित शिविरले लाभ पुर्याएको सङ्घका संस्थापक सदस्य धर्मराज राईले बताए । 'शिविरमार्फत हाम्रा वृद्ध आमाबुबालाई पुनःस्पष्ट देख्ने हुनुभएको छ । उहाँहरूसँगै हामी पनि खुसी छौँ,' उनले भने ।
विपन्न र दुर्गम भेगका अशक्त नागरिकलाई लक्षित गरी भोजपुरमा निःशुल्क आँखाको शल्यक्रिया गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको नेत्ररोग विशेषज्ञ डा सगुन मल्लले जानकारी दिइन् । 'आर्थिक अवस्था कमजोर भएका र अशक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौँ,' उनले भनिन्, 'वर्षौँदेखि आँखाको समस्या लिएर आउने बिरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ ।'
शिविरमा मल्लसहित नौ जना चिकित्सकको सहभागिता थियो । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया