समाज

विज्ञहरू भन्छन् : खाडी मुलुकमा महिला कामदार पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउनुपर्छ

इकागज |
पुस ६, २०८० शुक्रबार १४:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- सरोकारवालाहरूले खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रबार काठमाडौँमा आयोजित घरेलु कामदारमा जानका लागि लगाइएको पूर्व सर्तहरूसम्बन्धी गाेलमेच अन्तर्क्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले यस्तो बताएका हुन् । कार्यक्रममा श्रम विज्ञ रामेश्वर नेपालले नियन्त्रण गर्नसक्ने अवस्था नभएकाले सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने बताए ।


सत्तारूढ नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले नेपाली महिला कामदारहरू वैदेशिक रोजगारीमा जानुको कारणबारे खोजी गर्न जरुरी रहेको जिकिर गरिन् । उनले नेपालमा नै महिला श्रमिकहरूले ठूलो पीडा भोग्नुपर्ने अवस्था विद्यमान रहेकाले त्यसको अन्त्य गर्नका लागि सरकारलाई गम्भीर हुन पनि आग्रह गरिन् ।

श्रम विज्ञ नेपालले खाडी मुलुकमा घरेलु कामदारको रूपमा महिला पठाउने कुरालाई सरकारले फुकुवा गर्दै कानुनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

नेपालले भने, ‘हाम्रो आफ्नै श्रम सम्बन्धी कानुनमा कन्ट्रोल छैन । जो नीतिहरू हामीले बनाएका छौँ, त्यसको कार्यान्वयन गर्न सकिरहेका छैनौँ । हामी लाचारीहरू देखाइरहेको अवस्था छ । मजदुर फ्रेन्ड्ली कानुन छैन । अव्यावहारिक भयो भनेर भनिन्छ । मजदुर फ्रेन्ड्ली नीतिहरूलाई हामीले रद्धिको टोकरीमा हालिराखेका छौँ । वैदेशिक रोजगारीमा जानका लागि जुन ब्यान्डहरू गरिन्छ । त्यो आफैँमा आपत्तिजनक छ । यो स्वीकार्य कुनै पनि हालत हुनु हुँदैन ।’  

यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का निमयहरूको पालना नगर्ने देशहरूमा घरेलु काममा लागि महिलालाई वैदेशिक रोजगारमा पठाउने कुरा उपयुक्त नहुने बताए । उनले त्यहाँ गएर आएका महिलाहरूको पीडालाई पनि सम्बोधन हुने गरी सो सम्बन्धी निर्णय लिनुपर्ने समेत बताए ।

कार्यकारी निर्देशक उप्रेतीले भने, ‘त्यहाँ गएर आएका कोही पनि महिला कामदारहरूलाई खाडी मुलुकमा पठाउने पक्षमा हुनुहुन्न । घरेलु कामदार पठाउने कुरामा त झन कठोर बन्नुभयो । त्यहाँ गएका कामदारहरूले त्यहाँको पीडा भोग्नुभएको छ । आइएलओको नियम, कानुनहरू ती कन्ट्रीहरूले नमानी दिने । अनि हामीले हाम्रा चेलीबेटीहरू लुकेर जाने थाले, छिटो खुलाई दिनुपर्यो भन्न मिल्दैन ।’

कार्यक्रममा आप्रवासी महिला समूहकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन लगाइएको प्रतिबन्ध फुकाउने विषयमा सरकारलाई आफूहरूले सुझाव दिएको बताइन् ।

 


Author

थप समाचार
x