पुराना ३५९ थान मुद्दा असार मसान्तसम्म फर्छ्यौट गरिसक्छौँ : विशेष अदालत
काठमाडौँ- विशेष अदालतले बाँकी रहेका पुराना ३५९ थान मुद्दाहरू आगामी असार मसान्तसम्म फर्छ्यौट गरिसक्ने लक्ष्य राखेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विशेष अदालतले सो लक्ष्य राखेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुद्दा असार मसान्तसम्म सकिसक्ने कार्ययोजनाअनुसार काम गरिरहेको बताए । उनले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरू पनि असार मसान्तसम्म ५० प्रतिशत फर्छ्यौट गरिसक्ने कार्ययोजना रहेको बताए ।
उपरजिष्ट्रार कार्कीका अनुसार गत साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएका छन् । उनले अघिल्लो आर्थिक वर्ष अर्थात असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको जानकारी दिए । उनले जम्मा लगत भनेको अहिले विशेष अदालतमा ४३४ थान मुद्दा रहेको पनि बताए । उनले जसमध्ये १२३ थान (२८.३४ प्रतिशत) फर्छ्यौट भएको उल्लेख गरे । बाँकी मध्ये पनि विशेष अदालतमा २ वर्ष नाघेका मुद्दा ७२ थान रहेकोमा अहिले थान सकिएर ७० थान रहेको बताए ।
विशेष अदालतमा रहेका मुद्दामध्ये गैरकानुनी सम्पत्ति आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पत्ति शुद्धीकरणका मुद्दा २९ रहेका छन् । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फर्छ्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फर्छ्यौट भएको उनको भनाइ छ ।
उनका अनुसार नयाँ तर्फ ५ महिनामा ११ थान फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा २ थान फर्छ्यौट भएको छ । १३६ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा ११८ थान फर्छ्यौट भएर (८६.७६ प्रतिशत) फर्छ्यौट भएको बताए ।
कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरले विशेष अदालतमा पनि चाँडै नै मुद्दाहरूको अनलाइन दर्ता सुरु गर्ने जिकिर गरे । उनले सेवाग्राहीको खर्च, समय, स्रोतमा कमी ल्याउनका लागि भर्चुअल हेयरिङ सुरु गर्ने योजना अघि सारिएको बताए ।
उनले अनलाइन दर्ता सुरु भइसकेपछि सेवाग्राहीले प्रत्येक जिल्लाबाट हाफ्नो वकीलबाट मुद्दाको सुनुवाइ गर्न सकिने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया