'१२ वर्षे इनार' : जहाँको पानी खाँदा रोग निको हुन्छ ! (फोटोसहित)
काठमाडौँ - ऐतिहासिक वसन्तपुरलाई पर्यटकीय स्थलको रुपमा लिइन्छ । जहाँ हनुमानढोका दरबार, सानो पशुपतिनाथ मन्दिर, कालभैरव र न्यातपोल मन्दिर छन् । ऐतिहासिक संग्रहालय धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहर छन् । केही दूरीमा धरहरा समेत छ ।
धरहरा र वसन्तपुर नजिक लगनमा १२ वर्षे इनार पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । उक्त पर्यटकीय र धार्मिक इनारको नाम नेवारी भाषामा 'जपटु' हो । जुन मञ्जु मञ्ज बज्राचार्यले जप गरेर बनाएको ऐतिहासिक किंवदन्ती छ ।
जप गरेर बनाएकाले नेवारी भाषामा यसलाई 'जपटु' भनिन्छ । यो जमिन मुनि सात तलासम्म छ भन्ने जनविश्वास छ । यो १२ वर्षमा एक पटक सफा गरिन्छ त्यसैले पनि यसलाई १२ वर्षे इनार भनिएको हो ।
स्थानीय बाबुराजा बज्राचार्यका अनुसार २०४८ सालमा यो इनार सफा गरिएको थियो । त्यसपछि अहिलेसम्म यो पोखरी सफा गरिएको छैन । सफा गर्न यसका आफ्नै विधि र प्रक्रिया छन् । तीन दिनसम्म गुरुज्यूहरूले जप, तप, ध्यान र तन्त्र गरेर चौथो दिनमा यो इनार सफा गरिन्छ ।
राजतन्त्रमा इनार सफा गर्ने दिन राजा नै उपस्थित हुन्थे । पछि भने राजाको प्रतीकको रुपमा तरबार पठाइन्थ्यो । त्यसको बाबजुद गुरुहरू ध्यान बसेर एक छाक मात्रै खाएर नेवारी परम्पराअनुसार 'छोइला बु' (कपाल काटेर) लगायत विभिन्न संस्कारहरू गरेर बस्नुपर्छ । यो गर्न मन्त्रतन्त्र सबै चाहिन्छ । २०६० मा यो इनार स्थानीयको विवादका कारण सफा हुन सकेन । २०७२ मा भूकम्पमा कारण पुनः सफा गर्न नसकिएको स्थानीय बाबुराजाले जानकारी दिए ।
अन्य ऐतिहासिक सम्पदाको मिथक भनाइ भए जस्तै यसको पनि कथा छ । यसले जसरी अरुको कथा सुन्छ । यो इनारले पनि बेलाबेलामा आफ्नै कथा बताउँछ । यो वि.स ७७६ सालमा कुण्ड जस्तै थियो । त्यतिबेला दीक्षीत राजा थिए । दीक्षीतको दरबार लगन आसपास थियो । अहिले भत्किएको छ । राजा घुम्न जाँदा ढुंगेधाराको पानी खान्थे ।
एकदिन पानी खाँदा सँगसँगै सानो सर्प उनको मुखमा छिरेको भनाइ छ । त्यसपछि उनलाई पीडा भयो । पेट दुख्यो । आत्तिएर राजा यता उता गर्न थाले । बाटो हिड्दा त्यहाँको पहेलो भ्यागुतो, सेतो भ्यागुतो र नागराजाले राजालाई भने, 'तपाईंले जुन पानी खानुभयो त्यही बेला खाएको पानी सँगसँगै सानो सर्प मुखमा पसेको छ । त्यही भएर पीडा भएको हो । यो कुण्डको तीन अञ्जुली पानी खाएर हेर्नुस् पेट दुख्न निको हुन्छ ।'
राजाले सो कुण्डको पानी खाए र ठिक भयो । पवित्र र अमृत कुण्डलाई यसरी राख्न हुँदैन भनेर तत्कालीन अवस्थाका प्रख्यात तान्त्रिक मञ्जु मञ्ज बज्राचार्यसँग राजाले सल्लाह गरेर यसको संरक्षण गरेको स्थानीय बताउँछन् ।
इनार सफा गर्ने आफ्नै तरिका हुन्छ । सफा गर्न माटोको भाँडो र सनपाटको डोरी प्रयोग गरिन्छ । तल सात तला काठको बनाएको बज्रचार्यले जानकारी दिए । तल्लो भागमा ब्रम्ह कलश राखिएको छ । ब्रम्हकलशमा ठ्याक्कै बस्ने गरी नागराजा लेखेर १०८ वटा तत्व राखी गुरुहरुले तीन दिनसम्म पूजा गरेर चार दिनमा राख्ने गरिन्छ । पाँच वटा कलशमा एउटा पूर्ण कलश र अरु साना कलश हुन्छन् । त्यो फेरिसकेपछि मात्रै इनार सफा गरेको पुरा हुन्छ ।
इनार सफा गर्दा मात्र पानी निकालिन्छ । पानी खाँदा विभिन्न रोगहरू निको हुने जनविश्वास छ । पानी देश विदेश पठाउने,लैजाने प्रचलन छ ।
त्यसैगरी, काठमाडौँमा खडेरी पर्दा १२ वर्षे इनारको पानी खान पाइने विश्वास गरिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया