समाज

सहरको बीचमा देखिने पहेँलो अग्लो फलामे मेसिन (भिडियोसहित)

सुभद्रा धिताल | शुरज थपलिया |
पुस ८, २०८० आइतबार १७:२५ बजे

तस्बिरहरू : शुरज थपलिया

काठमाडौँ- सहर बजारमा ठूला-ठूला भवनहरू हुन्छन् । ती सबै भवन निर्माणमा मानिसका मात्र योगदान हुँदैनन् । आधुनिक समयको विकाससँगै मानिसले प्रविधिको प्रयोग गर्न थालेका छन् । प्रविधिले मानिसले गरिरहेका कामलाई पनि सहज बनाउन थालिसकेको छ ।

अझ विकास निर्माणको काममा मानिस बराबर मेसिनको पनि उत्तिकै योगदान हुन थालेको छ । हिजोआज सहरमा अग्ला-अग्ला संरचना तथा भवन बनाउन मेसिनको प्रयोग बढेको छ । 


हिजोआज सहरमा बन्दै गरेको भवनमा पहेँलो, लामो र तेर्सो परेको मेसिन देखिन थालेको छ । यसरी भवनमा सामान लैजान सहज गरिने मेसिनलाई टावर क्रेन भनिन्छ । 

दिलबहादुर घर्तीमगर ८ वर्षदेखि टावर क्रेन चलाएर बसेका छन् । जसले स्वदेशमा मात्र नभएर विदेशमा समेत टावर क्रेन चलाएको अनुभव उनीसँग छ । 
परिवारको दुःख बिर्साउन श्रमिक बनी कतार पुगेका उनी फर्कँदा टावर क्रेन अपरेटर बनेर फर्किए । उनी पाँच वर्षअघि स्वदेश फर्किए । 

आफू मात्र फर्केनन् । उनले सीप पनि सँगै लिएर आए । हातमा सीप भएकाले टावर क्रेन अपरेटर बन्ने अवसर प्राप्त गरेको दिलबहादुर बताउँछन् । उनलाई कम्पनीले तालिम दिएर क्रेन चलाउन अनुमति दिएको थियो ।

४५ देखि १६० मिटरसम्मको उचाइमा क्रेन चलाएको अनुभव उनीसँग छ । उनी यहाँ आफूले काम गर्ने कम्पनीले दिएको क्वार्टरमा बस्दै आएका छन् । उनी बबरमहलमा नयाँ भवन बनाउन व्यस्त छन् ।

के हो टावर क्रेन ?

ठूला घर तथा टावर बनाउँदा भारी मालसामानहरू तलबाट माथिल्लो तलामा पुर्याउन प्रयोग र निर्माण कार्यमा सहजीकरण गरिने यन्त्र नै हो 'टावर क्रेन' । यो क्रेनले भार उठाउन वा निर्माण सामग्रीहरूलाई अर्को ठाउँमा सहजै लैजाने गर्छ । 

यसको विशेषता

हातले उठाउन नसक्ने भारी तथा ठूला सामानहरू टावर क्रेनको माध्यमबाट सजिलै र छिट्टै उठाउन सकिन्छ । जति अग्लो भवनमा पनि यसबाट भारी सामान पुर्याउन सकिन्छ । हातले गर्दा महिनौँ दिन लाग्ने काम यो क्रेनबाट केही घन्टामै सम्पन्न हुन्छ । भने, निर्माण क्षेत्रमा काम गर्ने कामदार, निर्माण व्यवसायी र सेवाग्राहीलाई पनि टावर क्रेनले ठूलो राहत प्रदान गरेको हुन्छ ।

टावर क्रेन कसरी उभिएको हुन्छ ?

निर्माण गर्ने संरचनाको राफ्टसँगै क्रेनको खुट्टामा ढलान गरिएको हुन्छ । माथिका अन्य च्यानलहरू भने मोबाइल क्रेनहरू ल्याएर जडान गरिएको हुन्छ । यसको सपोर्ट भने उचाइ बढ्दै जाँदा २६-२६ मिटरको फरकमा फलामको च्यानलहरू राखेर सपोर्ट दिइन्छ । जसले उचाइ बढ्दै जाँदा टावर क्रेनलाई अड्याउन सहयोग पुग्छ । यी च्यानलहरू निर्माण गर्न लागिएको भवनको पिलरहरूमा नफुस्किने गरी कसेर जोडिएको हुन्छ ।

यो सञ्चालन गर्न कुन इन्धन प्रयोग गरिन्छ ?

यसलाई कुनै इन्धनले नभएर विद्युतीय माध्यमबाट चलाइन्छ । यदि विद्युत् गएमा जेनेरेटरबाट यसलाई सुचारु गरेर कामलाई निरन्तरता दिन सकिन्छ ।

अपरेटर कसरी त्यहाँ पुग्छन् ?

टावर क्रेनको माथि पुग्न फाउन्डेसदेखि नै फलामको भर्याङहरू बनाइएको हुन्छ । सोही भर्‍याङबाट क्रेन अपरेटर उक्लिएर क्रेनको माथिल्लो भागमा बनाइएको क्याबिनसम्म पुग्छन् । उक्त भर्‍याङको ९-९ मिटर दूरीमा आराम गर्ने ठाउँ बनाइएको हुन्छ । जसमा अपरेटरले केही समयका लागि उभिएर थकाइ मेट्न सक्छन् ।  

यसले कुन तरिकाबाट सामान बोक्ने गर्छ ?

यसलाई चलाउनका लागि छवटा फंसन हुन्छन् । जसमा दुईवटा फंसनमध्ये सामानलाई तल-माथि लैजान प्रयोग गरिन्छ र अन्य चार फंसनमा भने सामानलाई दायाँ-बायाँ र अगाडि-पछाडि गरी बोक्न सकिन्छ ।

ब्रेक हुन्छ कि हुँदैन ?
यसमा गाडीहरू जस्तो ब्रेक नै भन्ने हुँदैन तर क्रेनको गियर न्युट्रल अवस्थामा रहँदा आफैँ ब्रेक लाग्ने गरी जडान गरिएको हुन्छ । उक्त ब्रेक भने अन्य सवारी साधनको ह्यान्डब्रेक सरह काम र यसलाई रोकिएको समयमा प्रयोग गरिन्छ । साथै काम गर्दा ब्रेक लगाउने कि नलगाउने भन्ने कुरा अवस्था हेरेर तय गरिन्छ ।

भारी बोक्ने क्षमता कस्तो हुन्छ ? एक पटकमा कतिसम्म भारी बोक्छ ?

क्षमता हेरेर नै यसले कतिसम्मको भारी बोक्न सक्छ भनेर निर्धारण गर्न सकिन्छ । त्यस्तै नेपालको हकमा भने प्राय: पाँच टन क्षमता भएका क्रेनहरू हुन्छन् । क्रेनको जीपमा क्याबिन नजिकै पाँच टन र दूरी बढेअनुसार ४, ३, २ र १ टन गरी सामान बोक्ने क्षमता हुन्छ ।

टावर क्रेन अपरेटरले कसरी समन्वय गरेर काम गर्छ ?

मगर तल भएका कामदार तथा रिगरहरूसँग मोबाइल फोन, वाकीटकी तथा इशाराले समन्वय गरेर काम गर्ने बताउँछन् । उनीसँग पुरानो काम गर्ने संस्थाहरूमा मोबाइल र इशारामार्फत समन्वय गरेको अनुभव छ । प्रविधि बढे सँगै हाल कार्यरत कम्पनीमा वाकीटकीमार्फत समन्वय गर्न पाउँदा उनी दंग छन् ।

कति उचाइको हुन्छ र कति दूरीसम्म सामान बोक्छ ?

नेपालको हकमा प्राय: क्रेनहरू ५० देखि ५६ मिटरसम्मको उचाइका हुन्छन् । क्रेनको जीप ५२ मिटरसम्म हुन्छ । तर, न्यूनतम उचाइ भनेको ३२ मिटर हुन्छ । यो क्रेन अरूभन्दा फरक छ । आवश्यकताअनुसार यसको उचाइ र लम्बाइ बढाउन र घटाउन सकिन्छ  । 

के-के सुविधा हुन्छ ?

नेपालमा टावर क्रेनको निर्माण गरिँदैन यसलाई विदेशबाटै आयात गरिन्छ । नेपालमा आयात गरिने टावर क्रेनहरू एकदमै महँगो हुन्छन् । त्यस कारण आयातकर्ताले कामका हिसाबले सस्तो र कम सुविधा भएको क्रेन खरिद गर्छन् । यदि नेपाल बाहिरको कुरा गर्ने हो भने विदेशतिर प्रयोग हुने टावर क्रेनहरूमा अपरेटरका लागि भनेर हावाको बेगलाई मापन गर्न डिजिटल मिटर, लिफ्ट, भार क्षमता मिटर, एसी, कन्ट्रोल प्यानल स्क्रिन आदि जडान गरिएको हुन्छ । जसबाट अपरेटरलाई क्रेन चलाउन सहज हुन्छ ।

दिन र रात दुवै समयमा काम सकिन्छ कि सकिँदैन ?

रात र दिन दुवै समयमा काम गर्न सकिन्छ । तर,  प्राय:  क्रेनको काम दिनमा गरिन्छ । दिउँसो उज्यालो हुँदा सामान बोक्न सहज र जोखिम पनि कम हुने हुँदा धेरै जसो क्रेनले उज्यालोमा काम गर्छन् । यदि क्रेनमा बत्तीहरू जडान गरिएको छ भने राति पनि काम गर्न सकिछ । तर, उज्यालोमा गरे जति सहज भने हुँदैन ।

के क्रेनमा शौचालय हुन्छ ?

नेपाल तथा प्राय: विदेशी क्रेनहरूमा शौचालय हुँदैन । शौचालय जानु परेको खण्डमा अपरेटर आफैँ माथिबाट ओर्लिन पर्ने हुन्छ । 

टावर क्रेन चलाउने मान्छे (अपरेटर) को लाइसेन्स हुन्छ कि हुँदैन ?

हालसम्म नेपालमा टावर क्रेन चलाउनका लागि सरकारले लाइसेन्सको प्रावधान ल्याएको छैन । न त यसको लागि कुनै निकाय वा विभाग नै खडा गरिएको छ । नेपालको हकमा भने विदेशी कम्पनीको लाइसेन्स वा प्रमाणपत्र हेरेर प्राय: क्रेन अपरेटरमा नियुक्ति गरेको पाइन्छ । जसले गर्दा नेपालमै काम सिकेर अपरेटर बन्न चाहनेहरूलाई रोजगारी अवसर कम हुन्छ ।

कस्तो मौसममा चल्छ ?

हरेक मौसममा चल्छ । पानी र चट्याङ पर्दा टावर क्रेनलाई कुनै असर गर्दैन । तर, ठूलो हावा हुरी आउँदा भने सुरक्षाको हिसाबले काम रोक्नुपर्ने हुन्छ । तर, पनि काम गर्नु परेको खण्डमा भने काम गर्न सकिन्छ ।

अरू क्रेनभन्दा किन भिन्न छ टावर क्रेन ?

टावर क्रेन लामो उचाइमा बसेर काम गर्न सक्ने एक मात्र क्रेन हो । अरू क्रेनहरू अग्लो उचाइसम्म पुग्न सक्दैनन् । टावर क्रेनले अरू क्रेनले भन्दा बढी भार क्षमता भएका वस्तुहरू सहजै चौतर्फी दिशामा पुर्याउन सक्छ । यसमा अन्य क्रेनहरू जस्तो पाङ्ग्राहरू हुँदैनन् र यो निर्माणाधीन संरचनाहरूमा स्थिर हुन्छन् ।

क्रेनबाट हुन सक्ने जोखिम

टावर क्रेनबाट सामानहरू बोक्नका लागि बलियो बेल्टको प्रयोग गरिन्छ । जुन चुँडिएर सामान खस्नु नै यसको प्रमुख जोखिम हो । कहिलेकाहीँ भने माथि सामान तानिरहेको बेला भारी सामान एक्कासी भुइँमा खस्नु अर्को मुख्य जोखिम हो । क्षमताभन्दा बढी सामान बोक्दा र अपरेटरको लापरबाहीले गर्दा ठूलो घटना निम्त्याउन सक्छ । यसबाट अपरेटरसँगै क्रेनमुनि रहेका सम्पूर्णलाई जोखिम हुन्छ । 

क्रेनलाई कति पटकसम्म प्रयोग गर्न सकिन्छ ?

टावर क्रेनलाई जति पटक पनि प्रयोग गर्न सकिन्छ । तर, धेरै पटक क्रेनको प्रयोग गर्दा यसमा जडान गरिएका सामान तथा औजारहरू भने समय समयमा परिवर्तन गर्नुपर्छ । यदि सामानहरू समयमा प्राविधिकको सल्लाहअनुसार फेरिएन भने यसबाट दुर्घटनाको उच्च जोखिम हुन सक्छ । 

विगत लामो समयदेखि आफ्नो घर परिवार छाडि खाडी मुलुकहरूमा जान बाध्य भएका धेरै अपरेटरहरूलाई आफ्नै देशमा बसेर काम गर्ने सहज वातावरणको सिर्जना गरिदिनुपर्छ । नेपालमा टावर क्रेनसँग सम्बन्धित कुनै किसिमको ऐन कानुन तथा व्यवस्था छैन । नेपालमा खरिदकर्ताले आफ्नै मनलाग्दी हिसाबले प्रयोग गरेको पाइन्छ । त्यस कारण यसको उचित व्यवस्थापन गर्नु अपरिहार्य छ । तसर्थ, सरकारले क्रेनसम्बन्धी कानुनी प्रावधान तथा सम्बन्धित निकाय खडा गरी यसलाई व्यवस्थित गर्नुपर्छ । साथै उक्त क्षेत्रमा विज्ञ प्राविधिक राखि अनुगमन गरी कडा सुरक्षा नीति बनाउनुपर्छ । क्रेनसँग सम्बन्धित सम्पूर्णलाई प्राविधिक तथा सुरक्षासम्बन्धी तालिम तथा सचेतनाका कक्षाहरू पनि सञ्चालन गर्नुपर्छ । 

 

 


Author

थप समाचार
x