समाज

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

इकागज |
पुस ९, २०८० सोमबार १७:५० बजे

काठमाडौँ- ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् । एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।

पासमानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डहरूमार्फत निकालेर प्रयोग गरेको र अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।  


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x