एक सय सात वर्षीय घिमिरे नगर पिता घोषित
दमक- दमक नगरपालिकाले दमक–१ का एक सय सात वर्षीय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय वर्षमाथिका छ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ ।
तेस्रो ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक–८ का एक सय छ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक–३ की एक सय छ वर्षीया नरमाया सोराली, दमक–१० की एक सय पाँच वर्षीया नर्वदा खनाल, दमक–७ की एक सय पाँच वर्षीया मीनादेवी कार्की र दमक–१ की १०१ वर्षीया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो ।
नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक वर्षीय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले बताए । उनीहरूलाई पूर्वप्रमुख इन्द्रबहादुर बुढाथोकी, नगर प्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँलगायतले जाडोमा उपयोगी न्यानो कपडा, पोषणयुक्त आहारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नगर प्रमुख थापाका अनुसार नगरपालिकाले ९० वर्षमाथिका ज्येष्ठ र अपाङ्गता भएकालाई घरघरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले तीन/तीन महिनामा नियमित स्वास्थ्य जाँच गर्नुका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा कार्यपालिका सदस्य, वडाध्यक्ष, कर्मचारीलगायत सामाजिक, राजनीतिक व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया