पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात ३ दिनभित्र पेस गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएको कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरू ३ दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरू ३ दिनभित्र बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो । केही दिनअघि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्ति गरिएको थियो । सो नियुक्ति प्रक्रिया र सम्बन्धित व्यक्तिको योग्यतामाथि सांसदहरूले प्रश्न उठाएसँगै समितिले नियुक्ति सम्बन्धी प्रमाणित कागजात मगाएको हो ।
बैठकले कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ । त्यसैगरी बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शिघ्र यकिन गरी हाल साबिक गरी कोषको नाममा लालपूर्जा लिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । समितिले पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कलसहितको विवरण ३ दिनभित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
त्यसैगरी, बैठकले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिलाई उपलब्ध गराउन पनि भनेको छ । समितिले पशुपतिमा बिग्रिएको शवदाह मेसिन यथाशिघ्र सञ्चालनमा आउने गरी तयार गर्न र आवश्यकताअनुसार थप गर्ने गरी अगाडि बढ्न पनि निर्देशन दिएको छ । बैठकले पशुपतिनाथ मन्दिरको स्थलगत अनुगमन गर्ने र त्यति बेला पशुपति विकास कोषसँग सम्बन्धित विषयमा जानकारी पनि निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया