बैंकबाट रकम चोरी गर्ने तीनजना रौतहटबाट पक्राउ
रौतहट- जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ बस्ने २५ वर्षीय जितेन्द्र गिरी, गौर ७ बस्ने ३७ वर्षीय दिपेन्द्रकुमार साह र गुजरा नगरपालिका ६ घर भई हाल चन्द्रपुर नगरपालिका १० बस्ने वर्ष ४२ को राजकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
गौर नगरपालिका ४ बस्ने जयप्रकाश रायचनौको एनआईसी एसिया र माछापुच्छ्रे बैंकको खाताबाट २०८० असाढ २९ गतेदेखि पटक पटक गरी बाह्र लाख ४६ हजार चार सय ४०, गौर नगरपालिका ७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट २०८ असाढ २० गतेदेखि पटक पटक गरी जम्मा पाँच लाख, रौतहट गौर नगरपालिका २ महादेवपट्टी बस्ने विजय किशोर झाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट २०८० मंसिर २९ गते ८० हजार, चन्द्रपुर ९ बस्ने कृष्णप्रसाद तिमल्सिनाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरमा रहेको खाताबाट २०८० मंसिर ३० गतेदेखि पटक पटक गरी ६ लाख ११ हजार दुई सय आठ रुपैयाँ सन्ताउन्न पैसा गरी ४४ लाख ३७ हजार छ सय २५ रुपैयाँ सन्ताउन्न पैसा उनीहरूले निकालेका थिए ।
विभिन्न काल्पनिक व्यक्तिहरूको नामको भारतको घोडासहनमा गई किर्ते नागरिकता तथा सवारी चालक अनुमति पत्र बनाई सिमकार्डहरू निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरूमा खाता खोली मोबाइल बैंकमार्फत् खाताको रकम अनधिकृत रूपमा पहुँच पुर्याई चोरी गरेको विषयमा उजुरी परेपछि रौतहट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई अनुसन्धान प्रतिवेदन मिसिलसहित बिहीबार जिल्ला सरकारी वकिल कार्यालय रौतहटमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया